नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आशन्न निर्वाचनमा सत्ता साझेदार दलहरुबीचको तालमेलको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल सम्भव रहेको बताए ।
पार्टी प्रवक्ता डा.महतले अहिले नै गठबन्धन हुन्छ कि हुँदैन भन्ने यकिन नभएकाले चुनावी तालमेलकोे मोडालिटी भने तयार भइनसकेको बताए ।
‘चुनावी गठबन्धनको सम्भावना नकार्न सकिन्न । सम्भावना छ,’ उनले भने, ‘कसरी हुन्छ, कुन तहमा हुन्छ, भन्ने कुराको मोडालिटी तयार भएको छैन ।’
प्रवक्ता डा.महतले कांग्रेसले गठबन्धन गर्दा धेरै सिट जित्छ कि नगर्दा धेरै जित्छ त्यो आँकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने बताए ।
उनले गठबन्धन गर्ने अन्य दलको प्रस्तावलाई पनि हेरिने बताए । गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल भए सबैको जीत हुने गरी तालमेल हुने उनले बताए ।
‘वीन वीनको अवस्थामा गठबन्धन हुनुपर्छ,’ सल्यान जाने क्रममा नेपालगन्ज आएका प्रवक्ता डा.महतले भने, ‘कस्तो प्रस्ताव आउँछ । ठूलो प्रस्ताव आए सम्भव हुँदैन ।’
फागुन २९ बाट सुरु गरिएको चुनाव लक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान तालमेलको बहस गर्न नभइ कांग्रेस जोड्ने अभियान भएको महतले बताए ।
‘शुद्ध रुपमा हामीले बढीभन्दा बढी प्रभाव र पहुँच विस्तार गर्ने अभियान हो । नेपाली कांग्रेस जोड्ने अभियान हो। गठबन्धन गर्ने वा नगर्ने भनेर बहस गर्ने अभियान होइन,’ उनले भने ।
प्रवक्ता डा.महतले एमसीसीमा भ्रम छर्ने प्रयास गरिए पनि विफल भएको बताए । कांग्रेसले थालेको घरघर जाने अभियानमा एमसीसीको भ्रम तोड्ने बताए ।
सत्यपाटी । बाँके ।