सूचनाको शक्ति - The Power Of Information

        

चुलिँदै परनिर्भरता

सात महिनामा साढे ६ अर्ब बढीको फलफूल आयात, सबैभन्दा बढी स्याउ

चालू आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात आकासिएको छ । सात महिनाको अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ ।

छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिँदै गएको देखिन्छ ।

नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/०७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो । नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालू आर्थिक वर्षको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ ।

नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनुपरेको कृषि तथ्याङ्कले देखाएको छ ।

पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १०० मिटरको उचाइदेखि दुई हजार ४०० मिटरको उचाइमा ८०० मिलीमिटरदेखि एक हजार २०० मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ ।

झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख आम्दानी हुने कृषि विज्ञको भनाइ छ । नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।

त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्याँङ्क छ ।

यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै रु १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट रु दुई करोडको एभोकाडो, भारतबाट रु १६ करोडको खर्बुजा, चीनबाट रु १३ करोडको नासपाती भारतबाट चार करोडको किवी, नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलफूल गरी झन्डै तीन अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १५:०६