सूचनाको शक्ति - The Power Of Information

        

रुससँग सम्बन्धीत एक सय विमान ग्राउन्डेड

अमेरिकी सरकारले रुससँग सम्बन्धित झण्डै एक सयवटा विमान ग्राउन्डेड गरेको छ । त्यसमा एउटा विमान रुसी अर्बपति रोमन अब्रामोभिचको पनि रहेको छ ।

अमेरिकी वाणिज्य विभागले अमेरिकाले रुसमाथि लगाएका नाकाबन्दीका नियमहरु उल्लंघन गरेको भन्दै तीन बिमान कारबाहीमा परेको जनाएको छ ।

विमानहरु रुसलगायत विश्वका अन्य कुनै पनि स्थानमा सेवाका लागि प्रयोग गरिएको खण्डमा ठूलो परिमाणमा आर्थिक दण्ड र कैदसमेत हुनसक्ने बताइएको छ ।

कारबाहीमा पर्ने विमान सूचीमा एरोफ्लोटलगायत रुसका अन्य एयरलायन्सका विमानहरु पनि परेका छन् । अधिकांश बोइग विमान कारबाहीमा परेका छन् ।

ति मध्येमा अहिलेको चेल्सी फुटबल क्लबका समेत मालिक रहेका अब्रामोभिचको गल्फस्ट्रिम निजी जेट विमान पनि रहेको छ । ५५ वर्षिय अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध रहेको आरोप लगाइने गरिएको छ ।

तर, उनले यो आरोप अस्वीकार गर्दै आएका छन् । युक्रेनमाथि आक्रमण गरेको कारण अमेरिका र एसियास्थित यसको गठबन्धन लगायत युरोपेली संघले रुसमाथि नाकाबन्दी लगाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १४:५८