अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै युक्रेनलाई ८० करोड डलरको हतियार उपलब्ध गराउने घोषणा गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेयता पश्चिमा मुलुकहरुले किभलाई दिने सैन्य सहायतामा ह्वात्तै वृद्धि गरेका हुन् ।
युद्ध सुरु भएलगत्तै केही मुलुकले हेलमेटजस्ता सामग्री मात्र पठाउने निर्णय लिएका थिए । तर, अहिले ती मुलुकले ड्रोनजस्ता हतियार आपूर्ति गरिरहेका छन् । जसले रुसी ट्यांकलाई ८० किलोमिटर टाढैबाट ध्वस्त पार्न सक्छ ।
युक्रेनको आकाशलाई ‘नो फ्लाइ जोन’ गरिदिन युक्रेनले बारम्बार नेटोलाई गुहारिरहेको छ । तर, पश्चिमा मुलुकले यसलाई अस्वीकार गर्दै आएका छन् । बरु, त्यसको सट्टा उनीहरुले घातक र शक्तिशाली हतियार पठाइरहेका छन् । पश्चिमा मुलुकहरुले युक्रेनमा पठाएका केही हतियार यसप्रकार छन्,
बाइरख्तार टीबी–२ ड्रोन
यो ड्रोन टर्कीमा बनेको हो । युद्धको सुरुवाती दिनमा यो ड्रोनले रुसका कैयौँ ट्यांक र बख्तरबन्द सवारीलाई ध्वस्त बनाएका भिडिओ सार्वजनिक भएका छन् । तर, रुसले युद्ध क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली स्थापना गरिसकेपछि भने यो ड्रोन त्यति प्रभावकारी देखिएको छैन ।
टर्कीले २०१९ देखि युक्रेनलाई यो ड्रोन बेच्न थालेको हो । उसले कति वटा ड्रोन युक्रेनलाई आपूर्ति गरेको छ भन्ने खुलेको छैन । तर, ५० वटा जति युक्रेनले किनेको आकलन गरिएको छ । अमेरिकी थिंक ट्यांक फरेन पोलिसी रिसर्च इन्स्टिच्युटका निर्देशक आरोन स्टाइन यसलाई ‘ड्रोनहरुको टोयोटा कोरोला’ भन्छन् ।
‘एकदम महंगो स्पोर्ट्स कारले गर्ने सबै काम त यसले गर्दैन । तर, तीमध्ये ८० प्रतिशत काम भने गर्छ,’ उनी भन्छन् । यो ड्रोन सस्तो भइकन शक्तिशाली दुश्मनविरुद्ध प्रहार गर्न काम लाग्ने उनको भनाइ छ ।
कामिकाजे ड्रोन
अमेरिकाले युक्रेनलाई १०० वटा कामिकाजे अर्थात् स्विचब्लेड ड्रोन दिएको छ । यो ड्रोन आफैँ निसानामा लागेर विस्फोट हुन्छ । हलुका मोर्टार लञ्चरबाट यसलाई प्रहार गरिन्छ । प्रहार भइसकेपछि मात्र ड्रोनको पखेटा खुल्छ र निसानातिर अघि बढ्छ । यस्तो ड्रोनका अनेक भेरियन्ट छन् । जसमध्ये शक्तिशालीले ८० किलोमिटर र सानोले ९ किलोमिटरसम्म प्रहार गर्न सक्छ ।
स्टिंगर क्षेप्यास्त्र
अमेरिकाको पछिल्लो प्याकेजमा ८ सय स्टिंगर क्षेप्यास्त्र पनि सामेल छ । यसअघि नै अमेरिकाले ६ सय स्टिंगर दिने बाचा गरिसकेको छ । स्टिंगर क्षेप्यास्त्रलाई ‘म्यान पोर्टेबल एयर डिफेन्स सिस्टम’ अर्थात् ‘म्यानप्याड’ भनेर पनि चिनिन्छ । यसलाई काँधमा राखेर प्रहार गर्न सकिन्छ ।
यो क्षेप्यास्त्र प्रायः जमिनबाट विमान खसाउन प्रयोग हुन्छ । तर, यसलाई हेलिकोप्टरबाट पनि प्रहार गर्न सकिन्छ । युक्रेनको लडाइँमा यो प्रभावकारी देखिएको छ । अहिले मात्र होइन, १९८० को दशकमा सोभियत संघविरुद्ध अफगानिस्तानका मुजाहिद्धिनहरुले सफलता प्राप्त गर्नमा पनि यो हतियारले ठूलो सहयोग गरेको थियो । जर्मनीले पनि ५०० स्टिंगर युक्रेनलाई दिने भएको छ ।
ज्याभेलिन क्षेप्यास्त्र
यो ट्यांक ध्वस्त पार्ने हतियार हो । काँधमा राखेर वा जमिनबाट प्रहार गरिने यो क्षेप्यास्त्रले अढाई किलोमिटरसम्म निसाना लगाउन सकिन्छ । अमेरिकाले २ हजार ज्याभेलिन युक्रेनलाई दिने बताएको छ ।
एटी-४ एन्टी–ट्यांक
अमेरिकाले युक्रेनलाई ६ हजार एटी ४ पोर्टेबल एन्टी ट्यांक हतियार दिने बताएको छ । स्वीडेनमा बनेको यो हतियारले ५ सय मिटरसम्म प्रहार गर्न सक्छ । जर्मनीले १ हजार, नर्वेले २ हजार र स्वीडेनले ५ हजार यस्तो हतियार युक्रेनलाई दिएका छन् ।
लाइट एन्टी–ट्यांक
‘नेक्स्ट जेनेरेसन लाइट एन्टी ट्यांक वेपन्स’ (एनएलएडब्ल्यू) भनिने यो हतियारको तौल मात्र १२.५ किलो र लम्बाइ एक मिटर हुन्छ । जसका कारण पैदल सैनिकका लागि यो हतियार प्रयोग गर्न निकै सहज मानिन्छ । यसले ८०० मिटरसम्म प्रहार गर्न सक्छ । बेलायतले ३ हजार ६०० र अमेरिकाले १ हजार यस्तो हतियार युक्रेनलाई दिने बाचा गरेका छन् ।
स्टारस्ट्रिक एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र
यो छोटो दुरीका एन्टी एयरक्राफ्ट हतियारमध्ये सबैभन्दा तीव्र गतिको मानिन्छ । बेलायतमा बन्ने यो हतियार पनि युक्रेनलाई दिइने बताइएको छ ।
मि–१७ हेलिकोप्टर
पोल्यान्डले मिग–२९ लडाकु विमान युक्रेनलाई दिने प्रस्ताव गरेको थियो । तर, अमेरिकाले त्यसलाई रोकिदियो । त्यसपछि अमेरिकाले ५ वटा मि–१७ हेलिकोप्टर युक्रेनलाई पठाएको छ । जुन सोभियतकालीन हेलिकोप्टर हो ।
(द गार्डियनबाट)
सत्यपाटी । ।