सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

‘स्मृति’का तीन गजल

गजल – एक

टुक्रिएछ मन मेरो, तिम्रो माया पाउन सकिन ।
तय गरेको गन्तव्य, मैले एक्लै धाउन सकिन ।।

सजिलो हुन्छ है भन्न, तिमी आज टाढा भयौं ।
एकोहोरो एकतर्फी, मैले माया लाउन सकिन ।।

भताभुङ्ग भयो चाह, स्वप्न गगनमा उडेका ती ।
त्यहीँ चाह तिम्रो दिलमा, मैले जगाउन सकिन ।।

आज–आज भोलि भन्यौं, तिम्रा कुरा सुनिरहे ।
वर्षौं पर्खेका नजर, अन्त मैले डुलाउन सकिन ।।

देखेको थिए मैले नि, हजार सपना तिमीसँग ।
तिम्रो सामु ति प्रमाणहरु, म देखाउन सकिन ।।

 

गजल – दुई

कहिलेकाँही मनभित्र, किन राको बल्छ सानु ।
भित्रभित्रै आत थरथर, डरत्रासले गल्छ सानु ।।

भएको त केही पनि हुँदैन, तर के हुन्छ कुन्नी ।
सलाई कोर्नुपर्दैन, भित्रभित्रै मुटु जल्छ सानु ।।

वर्ष बित्यो महिना गयो, झिनो आस अझ नि ।
भेट्ने दिन गन्दागन्दै, रात अचेल ढल्छ सानु ।।

मलाई जस्तो बेचैनी हुन्छ हुन्न, तिमीलाई भन ।
आफ्नै छाँया साथ हुन्न, अँधेरीमा छल्छ सानु ।।

यादहरु सङ्गालौं भने संग्रहालय भरिन्छ होला
मुटुमाथि ढुङ्गा राखी कसरी जीवन चल्छ सानु ।।

 

गजल – तीन

शिखरमा चढ्छु म त, डाहा गर्नेहरू गरुन् ।
पाइला अघि बढाउँछु, रीसले मर्नेहरु मरुन् ।।

एकपाइला म चाले, अर्को तिम्ले चाल्नुपर्छ ।
साथ सँगसँगै हिँड्छु, आँखा तर्नेहरु तरुन् ।।

सफलताको बाटो कुद्न, सहज कहाँ छ र ।
काँडा पन्छाउँदै जान्छु, टाढा सर्नेहरु सरुन् ।।

काँधमा हात राख, साथमा सदैव हुनेछु है ।
आभास म दिलाउँछु, पीरमा पर्नेहरु परुन् ।।

गर्नुपर्ने बाचा गर, विश्वास मेरो तोड्ने छैनौं ।
निस्वार्थ माया दिन्छु, जाल भर्नेहरु भरुन् ।।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार ०७:२१