सूचनाको शक्ति - The Power Of Information

        

‘ट्रायल पास गरेको १० दिनभित्रै लाइसेन्स’

चैत १ गतेदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द गरेको छ । विभागलले पुराना आवेदकलाई लाइसेन्स उपलब्ध गराउने र लाइसेन्सको सफ्टवेयर प्रविधि सुधार गर्नुपर्ने भएकाले आवेदन बन्द गरिएको जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले पुराना आवेदकहरुको चापले गर्दा नयाँ आवेदन बन्द गरिएको बताए । उनले भने, ‘पुराना सेवाग्राहीको समस्या समाधान गर्न नयाँ आवेदन एक महिनाका लागि बन्द गरेका छौँ । हाम्रो सफ्टवेयर प्रविधि पनि त्यति बेलासम्म सुधार भइसक्छ । वैशाखदेखि ट्रायल परीक्षा पास भएको १० दिनभित्र लाइसेन्स उपलब्ध गराउँछौँ ।’

विगत लामो समयदेखि सवारी चालकहरूले सजिलैसँग स्मार्ट लाइसेन्स पाइरहेको छैनन् । विभागले खरिद गरेका स्मार्टकार्ड समयमै नआउँदा र कोरोना महामारीका कारण समयमै लाइसेन्स उपलब्ध गराउन नसकेको दाबी गर्दै आएको छ । विभागका अनुसार तत्काल पाँच लाख पुराना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गर्नुपर्नेछ ।

‘आवेदन दिएको केही समयपछि नै परीक्षा सञ्चालन गर्ने तयारी छ । पहिलेभन्दा अहिले धेरै सहज भइसकेको छ,’ महानिर्देशक घिमिरेले भने । विभागसँग १४ लाख स्मार्ट लाइसेन्स भएकाले सजिलैसँग स्मार्ट लाइसेन्स वितरण भइरहेको उनले बताए । ‘अहिलेसम्म साढे दुई लाख स्मार्ट लाइसेन्स छापेर वितरण भइरहेको छ । अब अझै आधा बाँकी छ,’ उनले भने ।

महानिर्देशक घिमिरेका अनुसार सवारी चालकका रुपमा विदेश जाने सेवाग्राही, विद्यार्थीलाई प्राथमिकतामा राखेर स्मार्ट लाइसेन्स वितरण भइरहेको छ । पहिलो चरणको कोरोना महामारी ०७६ चैतदेखि आवेदन बन्द गरिएको थियो । त्यसपछि दोस्रो चरणको कोरोना महामारी गत वैशाख १६ गतेदेखि आवेदन बन्द गरिएको थियो । त्यसयता पनि खुल्ने बन्द हुने क्रम रोकिएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १४:४८