सूचनाको शक्ति - The Power Of Information

        

अवैध आयात रोक्न सीमामा सक्रियता

गर्मीको मौसम सुरु भएपछि भारतको रुपैडिहाबाट नेपालगन्जमा भारतीय पेय पदार्थ ड्यु र कोकाकोला लगायत अवैध रूपमा भित्रिने क्रम तीव्र भएको छ ।

भारतमा उत्पादन भएको ड्यु र कोकाकोला तथा फ्रुटी सस्तो पर्ने हुँदा त्यहाँबाट भन्सार राजस्व छलेर नेपाल भित्र्याई बिक्री वितरण गर्ने काम हरेक वर्ष गर्मी यामभर हुने गरेको छ ।

यस वर्ष पनि ती भारतीय पेय पदार्थलाई नेपाल भित्र्याउने काम तीव्र भएको हो । नेपाली चिसो पेय पदार्थको बिक्री निकै कम हुने भएकाले यहाँका व्यवसायी मारमा पर्ने गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले खुला सीमाका कारण नेपालगन्जको व्यवसायमा ठूलो प्रभाव पर्दै आएको बताए । उनले भारतबाट अवैध रूपमा आउने पेय पदार्थको आयात रोक्न प्रहरी प्रशासनलाई दबाब दिएको बताए ।

व्यवसायी र डिलरको गुनासो बढेपछि भारतीय पेय पदार्थको तस्करी र अवैध आयात रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ ।

भारतबाट ड्यु र कोकाकोला ल्याउन नदिन नाकामा कडाइ गर्दै प्रहरीले तस्करी गरेको भेटिने बित्तिकै नियन्त्रणमा लिएर नष्ट गर्न थालेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताए ।

उनका अनुसार रुपैडिहाबाट मुख्य नाका भएर नेपालगन्ज भित्रिने ड्युका जम्बो बोतल बाँके प्रहरीले जमुनाह नाकाबाटै फर्काइदिन थालेको छ । सहायक नाकामा पनि भित्रिन नदिन कडाइ गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ०८:५२