सूचनाको शक्ति - The Power Of Information

        

रंगहरुको पर्व

पहाडमा सकियो होली, तराईमा आज

रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ ।

पहाडी क्षेत्रमा हिजो नै होली सकिएको छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ । होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ ।

हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ ।

फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ । एउटै उमेरसमूहका युवायुवती जम्मा भएर हर्षोल्लासपूर्ण रूपमा होली मनाउँछन् ।

यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ । जाडो सकिएको र गर्मी नबढिसकेको अवस्था भएकाले पनि रमाइलो मौसम छ यतिबेला । हिउँदे बाली खेतमा तयार हुँदै र बर्खे थन्क्याइसकिएको छ ।

होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ । त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ०७:४९