सूचनाको शक्ति - The Power Of Information

        

मुद्रण उद्योग संघ बाँकेको साधारणसभा तथा होली मिलन कार्यक्रम सम्पन्न

नेपाल मुद्रण उद्योग संघ बाँकेको पाँचौ वार्षिक साधारणसभा तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष विनोद पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल मुद्रण उद्योग संघका केन्द्रीय उपाध्यक्ष मनोज जिसी, केन्द्रीय सहसचिव मीना सुवेदी ढकाल, केन्द्रीय सदस्य चण्डीप्रसाद गैरे, नेपाल मुद्रण महासंघ प्रदेशका उपाध्यक्ष पूणर्लाल चुके, प्रदेश सचिव चिन्तामणि उपाध्याय र प्रदेश सदस्य हरि ज्ञवालीलाई सम्मानसमेत गरिएको छ ।

साथै यस संस्थाका आजीवन सदस्यले नेतृत्व गरेको घरेलु तथा साना उद्योगी महासंघ कोहलपुर शाखाका अध्यक्ष हेमविक्रम जिसीलाई पनि सम्मान गरिएको छ ।

जिल्लामा सञ्चालित मुद्रण व्यवसायीहरुको छाता संगठन मुद्रण व्यवसायी संघ हो । भारतसँग बाँके खुला सीमा भएका कारण भारतीय बजारबाट मुद्रण भएर आउँदा ठूलो समस्या भएको मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष पौडेलले जनाए ।

‘पारिबाट छपाइ भएर आउँदा यहाँ ठूलो मात्रामा राजस्व तिरेर सञ्चालन भएका मुद्रण व्यवसायीलाई ठूलो चुनौती छ,’ उनले भने, ‘यसलाई न्यूनीकरण गर्नतर्फ सरोकारवालाहरु लाग्नुपर्छ ।’

बाँकेका मुद्रण व्यवसायीको अर्को समस्या भनेको जनशक्ति अभाव भएको उनी बताउँछन् । बाँकेमा एक सयभन्दा बढी मुद्रण व्यवसायी छन् भने यसबाट दुई हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

बाँकेमा मुद्रण व्यवसायीले अफसेट प्रेस, स्क्रीन प्रिन्ट, डिजिटल प्रिन्ट, आर्ट तथा प्याकेजिङ सेवाहरु दिइरहेका छन् । उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्य, संस्थापक तथा सल्लाहकार र मुद्रण व्यवसायीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १९:३६