सूचनाको शक्ति - The Power Of Information

        

सत्य विशेष रिपोर्ट

बाँके प्रहरीको सफलता : अपराध नियन्त्रणदेखि मानव उद्दारसम्म, तर रोकिएन यौनधन्दा

बाँके जिल्ला भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकै कारण पनि अपराध नियन्त्रण निकै कठिन र चुनौतिपूर्ण रहेको छ ।

  • १३७ जना लागुऔषध कारोबारी पक्राउ

  • चार किलो सुन बरामद, दुई पक्राउ

  • साना हतियारको बिगबिगी नियन्त्रणमा

  • वन्यजन्तुका अंग कारोबारमाथि ‘एक्सन’

  • २१ जना पक्राउ पर्दा पनि पनि रोकिएन यौनधन्दा

  • फरार अभियुक्त पक्राउदेखि जुवातास नियन्त्रणसम्म

भारतसँगको खुला सीमा नाका, अवैध हातहतियार, लागुऔषध ओसारपसार, सेवन तथा कारोबार नियन्त्रण, अवैध पैठारी तथा तस्करी नियन्त्रण बाँकेमा सबैभन्दा ठुलो चुनौतीका रुपमा रहेको देखिन्छ ।

पछिल्लो समयमा बाँकेको जनसंख्या ह्वात्तै बढेको छ । अझ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मूख्य व्यापारिक केन्द्र भएकै कारण प्रत्येक बर्ष जनसंख्या वृद्धिदर दिनप्रतिदिन बढिरहेको छ । १० बर्षको अवधिमा बाँकेको जनसंख्या सवा एक लाख वृद्धि भएको देखिन्छ ।

पश्चिमका तीन प्रदेशको केन्द्र तथा देशकै धेरै ठाउँबाट मानिसहरु विभिन्न कामका लागि बाँके आउने भएकाले यहाँको चाप जनगणनाको तथ्यांकभन्दा निकै धेरै छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार ४ लाख ९१ हजार ३१३ रहेका जनसंख्या २०७८ को जनगणना अनुसार ६ लाख ३ हजार ३९३ पुगेको छ । यो बाँकेको स्थायी जनसंख्या हो ।

सामान्यतयाः बाँके जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने जनसंख्या झण्डै १० लाखभन्दा धेरै रहेको अनुमान गर्न सकिन्छ । बाँकेको सीमा नाका जमुनाह बीरगन्जपछि नेपालकै ठूलो सीमा नाका भएकाले यहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आर्थिक व्यापारीहरुको कारोबार पनि उच्च देखिन्छ ।

यसले पनि यहाँको स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नेको संख्या १० लाख बढी रहेको अनुमान छ । जनसंख्याको अनुपातका आधारमा पनि यहाँ अपराध उस्तै बढेको देखिन्छ । बाँकेमा जनसंख्या वृद्धिदरसँगै नेपालगन्ज शहर साँस्कृतिक, व्यापारिक एवं पर्यटकीय हवका रुपमा रहेकाले यहाँ हरेक बर्ष विभिन्न अपराधिक घटनामा वृद्धि हुँदै गएका छन् ।

यद्यपी बाँके प्रहरी भने अपराध नियन्त्रणमा निरन्तर लागिपरेको छ । विभिन्न गैरकानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरी पछिल्लो समय अपराध नियन्त्रणमा सफलतातिर अघि बढेको देखिन्छ ।

भारतसँगको खुला सीमा नाका, अवैध हातहतियार, लागुऔषध ओसारपसार, सेवन तथा कारोबार नियन्त्रण, अवैध पैठारी तथा तस्करी नियन्त्रण बाँकेमा सबैभन्दा ठुलो चुनौतीका रुपमा रहेको देखिन्छ । बाँके जिल्ला भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकै कारण पनि अपराध नियन्त्रण निकै कठिन र चुनौतिपूर्ण रहेको छ ।

यद्यपी बाँके प्रहरी भने अपराध नियन्त्रणमा निरन्तर लागिपरेको छ । विभिन्न गैरकानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरी पछिल्लो समय अपराध नियन्त्रणमा सफलतातिर अघि बढेको देखिन्छ । त्यसो त अपराध नियन्त्रणका लागि बाँके प्रहरीले छुट्टाछुट्टै प्रहरी दस्तासमेत परिचालन गर्दै आएको छ ।

‘अपराध नियन्त्रणमा प्राथमिकताका साथ लागिरहेका छौं । अपराधजन्य गतिविधि नियन्त्रण मात्रै होइन, शुन्य गराउन लागिपरेका छौं । विगतको तुलनामा अपराध धेरै कम भइसकेको छ । अपराध हाम्रो काबुमै रहेकाले हामीले अपराध नियन्त्रणमा हरेक दिन सफलता पाइरहेका छौं,’ बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने ।

भारतसँगको खुला सीमाबाट भित्रिने अवैध हातहतियार बरामद, लागुऔषध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण, बहुमुल्य जनावरको अंग तस्करी नियन्त्रण, ट्राफिक नियम उलङ्घन नियन्त्रण र गैरकानुनी कार्यमा संलग्न तथा फरार अभियुक्त पक्राउ गर्ने कुरामा बिशेष सफलता पाएको प्रहरी उपरीक्षक अधिकारी बताउँछन् ।

१३७ जना लागुऔषध कारोबारी पक्राउ

बाँके प्रहरीले साउनदेखि हालसम्म सात महिनाको अवधिमा १३७ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुका साथबाट ६ लाख ५५ हजार नगद पनि बरामद गरेको छ । सात महिनाको अवधिमा प्रहरीले सबैभन्दा धेरै ७ किलो ४०८ ग्राम लागुऔषध चरेश बरामद गरेको छ ।

जिल्ला बाँके प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार ७१९ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, २८० ग्राम गाँजा, ८ हजार २०० मिलिलिटर कोरेक्स, ३ हजार ५७८ ट्याव्लेट नाइट्राजेपाम २ हजार ४३० ट्याब्लेट ट्रमाडोल बरामद गरेको छ । धेरै संख्यामा लागुऔषध कारोबारी पक्राउ गरेसँगै प्रहरी हिरासतमा लागुऔषधका धेरै थुनुवा रहेका छन् ।

जिल्ला बाँके प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी उपरीक्षक अधिकारीले भारतीय प्रहरीले पनि भारतमा ठुलो परिमाणको लागुऔषधसहित कारोबारी पक्राउ गर्न थालेपछि नेपालमा समेत लागुऔषध ओसारपसारमा केही कमी आएको बताए । लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न प्रहरी कडारुपमा उत्रिएको उनले बताए ।

चार किलो सुन बरामद

प्रहरीले २०७८ भदौं १८ गते नेपालगन्ज विमानस्थलबाट ३ करोड १३ लाख ९७ हजार ६७५ मूख्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । जुत्ताको तलुवामा लुकाएर ल्याउँदै चार किलो सुनसहित दुई जना कारोबारीलाई पक्राउ गर्न बाँके प्रहरी सफल भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

श्री एयरलायन्सको उडानमार्फत काठमाडौंबाट नेपालगन्ज आउँदै गर्दा झापाका अमिर लगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीका साथबाट एक–एक पिस बिस्कुट गरी तीन किलो ९९४ ग्राम र बुद्धिमान खातीको साथबाट सुनजस्तो देखिने एक थान तिलहरी, एक थान बाला, पाँच थान गरी जम्मा चार किलो २९.१९ ग्राम सुन बरामद गरेको थियो ।

यस्तै सुन भनेर नक्कली धातु देखाई ठगी गर्ने दुई जनालाई २०७८ पुस १४ गते प्रहरीले पक्राउ गरेको छ । जगदुला गाउँपासिलका–१ डोल्पाका रविन्द्र रोकायलाई १ किलो सुन दिन्छु भनि सुनजस्तो नक्कली धातु देखाएर उनीसँग १५ लाख रकम लिई ठगी गर्ने जाजरकोट गाउँपालिका–६ बारेकोटका राजु कार्की र पूर्णबहादुर बिक पक्राउ परेका छन् ।

साना हतियारको बिगबिगी नियन्त्रणमा

प्रहरीले सात महिनाको अवधिमा अवैध हातहतियारको कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ उनीहरुको साथबाट युएसए पेस्तोल एक थान, अटोमटिक पेस्तोल एक थान र उक्त पेस्तोलमा लाग्ने गोली नौं थान, कटुवा पेस्तोल तीन थान, एयरपेस्तोल एक थान, भरुवा भन्दुक एक थान, भरुवा बन्दुकमा लाग्ने छर्रा तीन थान बरामद गरेको छ ।

नेपालगन्जमा सजिलै हतियार आइपुग्ने भएकाले अपराधिक पृष्ठभूमिका युवाले पेस्तोल बोकेर हिँड्ने गरेका छन् । कतिपय भारतीय नेपालगन्जसम्म नै हतियार बिक्री गर्न आइपुग्ने गरेको पाइन्छ । केही समयअघि नेपालगन्जमा हतियार बिक्री गर्न आउदा भारतीय नागरिक पक्राउ परेका थिए । २० हजार रुपैयाँमै पेस्तोल किनबेच हुने गरेको बताइन्छ ।

भारतमा सजिलै किन्न पाइने भएकाले बाँकेमा साना हतियारको बिगबिगी रहेको अनुमान गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले साना हतियार भारतमा सजिलै पाइने भएकाले खुल्ला नाकाबाट बाँकेमा पनि भित्रिएको बताउदै त्यस्ता हतियार नियन्त्रण गर्न प्रहरी लागि परेको बताए ।

वन्यजन्तुका अंग कारोबारीमाथि ‘एक्सन’

बाँके प्रहरीले तीन थान बाघको छाला, दुई थान रेडपाण्डाको छाला, चार वटा भालुको पित्त, दुई वटा हातीको दाँतसहित १० जनालाई पक्राउ गरी डिभिजन वन कार्यालय बाँकेमा बुझाएको छ । पछिल्लो समयमा दिनदिनै दुर्लभ वन्यजन्तुको चोरी सिकार गर्न तस्करहरु सक्रिय हुन थालेपछि बाँके प्रहरीले ‘तस्कर’माथि कडा एक्सन चलाइरहेको छ ।

‘तस्करीको ‘ट्रान्जिट’ बनेको बाँकेलाई तस्करमुक्त बनाउने चुनौती देखिए पनि हामी कडा एक्सनमा उत्रिएका छौं । जसका कारण हामी निरन्तर सफलतामा पुगिरहेका छौं,’ बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक अधिकारीले भने । पछिल्लो समय बाँके जिल्ला वन्यजन्तुका ओखेटोपहार ओसारपसार गर्ने ‘ट्रान्जिट’का रुपमा विकास हुँदै गएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी जिल्लाबाट वन्यजन्तुका ओखेटोपहार ल्याएर नेपालगन्जमा खरीद विक्री हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार वन्यजन्तुको तस्करी नेपालबाट मात्र होइन, अन्य देशबाट समेत नेपाल ट्रान्जिट हुँदै गएको छ । खुला सीमाका कारण नेपाल ट्रान्जिट प्वाइन्ट हुने गरेको प्रहरीको भनाइ छ ।

खासगरी गैंडा, बाघ, चितुवा, भालु, हाब्रे सालक लगायत वन्यजन्तु तस्करको निशानामा पर्ने गरेको प्रहरी अनुसन्धानमा देखिन्छ । गैंडा खाग, खुर र छालाका लागि तस्करको निशानामा पर्ने गरेको छ भने छाला र हड्डीका लागि बाघ र चितुवाको शिकार हुन्छ । प्रहरीले लामो समयदेखि वन्यजन्तुका अंगको तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ पनि गर्दै आएको छ ।

त्यस्तै, पित्त र नङ्ग्राको लागि भालु मारिन्छ भने छालाको लागि रेडपाण्डा (हाब्रे) को सिकार हुन्छ । त्यस्तै खपटाको लागि सालक, विनाको लागि कस्तुरी, दाह्राको लागि हात्ती, साहतुस (रौँ) का लागि चिरुको शिकार हुन्छ । यीबाहेक अजिङ्गर, सालक, हुचिल, लाटोकोसेरो लगायत वन्यजन्तु र पंक्षीको भने जीवित तस्करी हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तस्करहरुले नेपाली भूमिको प्रयोग गर्दै आखेटोपहारको व्यापक माग हुने देशहरु चीन, भियातनाम, जापान, कम्बोडिया लगायतका बजारमा पुर्याउँछन् । चीरुको रौं तिब्बतबाट अवैध रुपमा निकासी गरी नेपालको बाटो हुँदै भारत जान्छ । बाघको छाला र हड्डी नेपालको बाटो हुँदै तिब्बत पुग्छ । त्यहाँबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ ।

२१ जना पक्राउ पर्दा पनि पनि रोकिएन यौनधन्दा

प्रहरीले होटलमा यौन व्यवसाय सञ्चालन गर्ने, आगन्तुलाई दुःख दिने २१ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ । प्रहरीका अनुसार नेपालगन्ज तथा कोहलपुर क्षेत्रका विभिन्न १७ वटा होटल, रेष्टुरेन्टमाथि आवश्यक छानविन गरी संलग्न ६ वटा होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित १२ जना महिला र ९ जना पुरुषलाई कारबाही गरिएको छ ।

नेपालगन्जमा मात्रै होइन बाँकेका साना होटल, गेष्ट हाउस, रेष्टुरेन्टमा हुने यौनधन्दा पुरानै हो । बाँकेका साना झुपडी, साना, मझौला होटलमा हुँदै आएको भनिएको देहव्यापार यतिबेला यहाँका तारे होटलमा समेत मौलाएको छ । अझ पछिल्लो समयमा नेपालगन्जमा यौनजन्य क्रियाकलाप नियन्त्रण बाहिर गइसकेको छ ।

कहिलेकाहीँ हुने प्रहरीको छापाले केही त्यस्ता घटना उजागर नगरेको भने होइन तर जति मात्रामा त्यस्ता घटना उजागर हुन्छन् त्य भन्दा कयौं गुणा त्यस्ता क्रियाकलाप गुपचुपमै रहदै आएको छ । बाँकेका विभिन्न शहरी क्षेत्रमा चिया पसलदेखि तारे होटलसम्ममा यस्तो काम भैरहेको प्रहरीलाई समेत थाहा छ । तर प्रहरीले यसतर्फ चासो देखिएको छैन ।

नेपालगन्जको न्युरोड, राँझा, बसपार्क लगायतका क्षेत्रका साथै कोहलपुरको दश बिगाह, बसपार्क, मनकामना चोक, चप्परगौडीदेखि ढकेरीसम्मको क्षेत्रमा सबैभन्दा बढि देह ब्यापार हुने गरेको छ । नेपालगन्ज, कोहलपुरका तारे भनिएका होटलमा उच्च सरकारी अधिकारीदेखि उच्च घरानाका यौन जोडीहरू आउने गरेको खुलेको छ ।

यहाँका स्टारमा यौनधन्दा हुन्छ भन्ने कुरा त यसअघि मालपोत हाकिम काण्डले पनि प्रमाणित गरिसकेको छ । यस्तो पेशामा १४ बर्षदेखि विवाहित महिलाहरु पनि संलग्न रहँदै आएका छन् । देहब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा एक हजारदेखि २० हजारसम्म लिने गरेको स्रोतको भनाई छ ।

भिआइपी पाहुना आउँदा होटल सञ्चालकले अर्डर अनुसार कलेज पढ्ने युवती बोलाइदिने र उनीहरुको रेट पनि महङ्गो हुने स्रोतले बतायो । स्रोतका अनुसार एक रातको कम्तीमा १० देखि २० हजारसम्म लिने गरी नेपालगन्ज तथा कोहलपुर क्षेत्रमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआइपी पाएपछि डिल गरेर जाने गरेका छन् ।

श्रीमान विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउने उनीहरुको रेट १ देखि २ हजारसम्म रहेको स्रोतको दाबी छ ।

लामो समयदेखि घर परिवारबाट टाढा बसेका प्रहरी, सेना र सरकारी कर्मचारी उनीहरुका प्रमुख ग्राहक हुन् । यसबाहेक पर्यटकहरू पनि छन् । केही होटलले कामदारको रुपमा युवती राख्ने र यौनधन्दामा लगाउने गरिएको पनि पाइन्छ । होटलमा नियमित कामदार भएर नै त्यस्ता कार्य गर्ने युवतीहरुको संख्या बाँकेमा धेरै छ ।

फरार अभियुक्त पक्राउदेखि जुवातास नियन्त्रणसम्म

बाँके प्रहरीले सात महिनाको अवधिमा ६४ वर्ष १० महिना १२ दिन कैद भुक्तान गर्नुपर्ने १४३ जनालाई पक्राउ गर्दै ३७ लाख ९९ हजार ५१४ रुपैयाँ जरिवाना असुल गरेको छ । प्रहरीले ६ लाख ५३ हजार ९०० रुपैयाँ मूल्य बराबरको ११ गोलिया र ११८ चिरान सालको काठसहित तीन जनालाई पक्राउ गरी डिभिजन वन कार्यालय बाँकेमा बुझाएको छ ।

बाँके प्रहरीको तथ्यांक अनुसार सोही अवधिमा ४ करोड ५० लाख ११ हजार ४५८ मूृल्य बराबरको भन्सार चोरी पैठारीको समानसहित २७ जना तस्कर पक्राउ गरेको छ भने २२ लाख मूल्य बराबरको १९४ वटा बोइलर कुखुरा, ७ हजार ९०० चल्ला, १ क्वीन्टल मासु, ३५ किलो माछासहित सात जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

सात महिनाको अवधिमा विभिन्न ७३२ मुद्दामा ९२४ जनालाई पक्राउ गरी कारबाही गरिएको पनि बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार विभिन्न समयमा हारजित हुने गरी जुवा तास खल्ने ७७ जनालाई नगद १८ लाख २३ हजार ५५० रुपैयाँसहित पक्राउ गरि कारबाही गरिएको छ ।

त्यस्तै प्रहरीले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ टिपर, १० ट्याक्टर नियन्त्रणमा लिई ३ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने ट्राफिक नियम उलङ्घन गरेर सवारी चलाउने २० हजार ५३५ सवारी साधनलाई कारबाही गर्दै १ करोड १२ लाख ३४ हजार ५०० राजश्व संकलन गरेको जनाएको छ ।

जिल्लाका विभिन्न स्थानबाट चोरिएका ३ वटा स्कुटर, १४ वटा मोटरसाइकल बरामद गरेको छ भने सवारी साधन चोरी कार्यमा संलग्न १९ जनालाई पक्राउ गरी कारबाही गरेको जिल्ला प्रहरीको तथ्यांक छ । प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जना महिला तथा बालबालिकाको उद्धार परिवारको जिम्मा लगाएको पनि जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १९:३९