सूचनाको शक्ति - The Power Of Information

        

इन्धन मूल्यवृद्धि प्रभाव

यातायात व्यवसायीको चेतावनी, ‘सरकारले भाडा नबढाए, आफैँ बढाउँछौं’

विभिन्न माग राखेर आन्दोलित बनेका यातायात व्यवसायी । फाइल तस्वीर ।

सार्वजनिक यातायात व्यवसायीले आफैँ भाडा बढाउने चेतावनी दिएका छन् । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले गाडी भाडा नबढाएको भन्दै व्यवसायीले आफैँ बढाउने चेतावनी दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिअनुसार आफैँ भाडा बढाउने तयारी भइरहेको बताए ।

‘सार्वजनिक यातायातको भाडादर समायोजन गर्न सरकारले पटक–पटक बेवास्ता गर्दै आएको छ । हामी आन्दोलनको तयारीमा छौँ । अब आफैँ भाडा बढाउँछौँ,’ महासचिव सिटौलाले भने । कातिक १ देखि सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेलको मूल्य १३८ पुगेको छ ।

व्यवसायीले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्वतः भाडा बढ्ने र घट्दा घट्ने स्वचालित भाडादर कामय गराउन दबाब दिइरहेको छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले स्वचालित भाडा बढाउन सरकारलाई दबाब दिइरहेको बताए ।

‘सरकारलाई दबाब दिँदै आएका छौँ । हरेक साताजस्तो पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । मूल्य वृद्धिसँगै हवाई कम्पनी लगायतले स्वचालित भाडा समायोजन गर्छन् । हामीले महँगो भाडा लिन खोजेका होइनौँ । मूल्य वृद्धि अनुसारको भाडा वृद्धि गर्न मात्रै भनेका हौँ,’ उनले भने ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १६:१८