भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्ष अघिसम्म अनुत्पादक जग्गा भएको सुख्खा गाउँका रुपमा चिनिन्थ्यो । तर, विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ ।
यहाँका गाउँलेहरुले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौं रुपैयाँ कमाउन सफल भएका छन् ।
‘पहिला छ्या ! बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरू अहिले आहा ! कति हराभरा गाउँ भनेर प्रशंसा गर्न थालेका छन् ।’ वडा सदस्यसमेत रहेकी सुन्तला कृषक मनकुमारी पुनले भनिन् ।
उनले यो वर्ष सुन्तला बिक्री गरेर हामीले गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी भित्र्याएको बताइन् । ‘अब यो अनकण्टार भनिएको पाखोमा सुन्तलाका बोटमार्फत पैसा फल्न थालेको छ,’ वडा सदस्य पुनले भनिन् ।
यो वर्ष पनि सुन्तला बिक्रीबाट २१ लाख आम्दानी गरेको उनले सुनाइन् । एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको विरुवा उत्पादन गर्दै आएकी पुनले सुन्तलाको दाना र विरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताइन् ।
पुनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम रु २० हजारदेखि अधिकतम रु २१ लाखसम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्राउन सफल भएका हुन् ।
पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमति राना, कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्छन् । यहाँका किसानहरु परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् ।
परम्परागत खेतीबाली लगाउन छाडेर यहाँका किसानहरु पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका ३ का वडाध्यक्ष पदम पुन बताउँछन् । राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैंचाबाटै सुन्तला बेचेर ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए ।
त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब २८ लाखको सुन्तला बजारमा गएको स्थानीय यूवा कृषक होम रोका मगरले बताए । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका विरुवा रोपिएको कृषकको भनाइ छ ।
१० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक सुन्तला र फलफुल खेतीमा आकर्षित भकिम्लीबासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् । ‘अबको केही वर्षमा परम्परागत रूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्नेछ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ’ वडाध्यक्ष पुनले भने ।
यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधादशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको छ । केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीहरूमा समेत सुन्तला खेतीको लहर चलेको छ ।
रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधि प्रयोग गरेपछि यसवर्ष उत्पादनमा सुधार आएको छ । ‘सिंगो वडा नै सुन्तला खेतीमा आर्कषित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौ’ वडाध्यक्ष पुनले भने ।
हरेक वर्ष नयाँ विरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाईमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको वडाध्यक्ष पुनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्षेनी लाखौं खर्च हुने गरेको छ ।
भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २०० मिटरदेखि १ हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ ।
सत्यपाटी । म्याग्दी ।