सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन

माओवादीको निर्वाचन रणनीति, मतदाता रिझाउन देशभर २८ कमान्ड

स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका नेता परिचालन गर्ने रणनीति बनाएको छ । चुनावी प्रचारका नारादेखि कार्यक्रम समेत तय भइसकेको सो पार्टीले जनाएको छ ।

‘घरघरमा सदस्य, टोल टोलमा माओवादी, गाउँ नगर जाऔँ, माओवादी केन्द्रलाई जिताऔँ’ भन्ने नारा तय गरिएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए । स्थानीय तहअनुसारका चुनावी घोषणा पत्रको तयारी भइरहेको उनले बताए । केन्द्रले भने, ‘अपिलपत्र बनाएर मतदातालाई वितरण गर्नेछौं ।’

सो पार्टीले चुनावी रणनीति, गठबन्धन आदिको निर्णय गर्ने अख्तियारी दिएर देशभर २८ वटा कमान्ड गठन गरेको छ । प्रदेश १ र बागमती प्रदेशमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमान्ड बनाइएको बस्नेतले जानकारी दिए ।

पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जिल्ला र प्रदेशको विशेषता हेरेर कमान्ड बनाइएको बताए । ‘दुई, तीन र चार जिल्ला समेटेर कमान्ड बनाएका छौँ,’ मुख्य सचिव ढकालले भने, ‘अब चुनावको विशेष अभियान कमान्डले सञ्चालन गर्नेछ ।’ यी सबै कमान्डको नेतृत्व प्रदेश तहबाट हुनेछ ।

मत सर्वेक्षण, जनताको घरघरमा जाने, संगठन विस्तार, सभा र प्रशिक्षणको तय तिनै कमान्डअन्तर्गत हुने उनले बताए । अहिले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा व्यस्त छन् ।

प्रदेश १ मा ५ वटा कमान्ड

प्रदेश १ मा रहेका १४ जिल्लालाई पाँच खण्डमा विभाजन गरेर कमान्ड बनाइएको छ । सोलुखुम्बु र ओखलढुङ्गाबाहेक अन्य कमान्डमा ३ जिल्ला समेटिएको छ ।

१. ताप्लेजुङ, पाँचथर, इलाम
२. झापा, मोरङ, सुनसरी
३. धनकुटा, तेह्रथुम, संखुवासभा
४. भोजपुर, खोटाङ, उदयपुर
५. सोलखुम्बु, ओखलढुंगा

मधेश प्रदेशमा ४ कमान्ड

माओवादी केन्द्रको राम्रै प्रभाव रहेको मधेस प्रदेशमा रहेका ८ जिल्लालाई ४ कमान्डमा विभाजन गरिएको छ ।

१. सप्तरी, सिरहा
२. धनुषा, महोत्तरी
३. सर्लाही, रौतहट
४. बारा, पर्सा

बागमती प्रदेशमा ५ कमान्ड

काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेशमा माओवादीले चुनावी प्रचार रणनीति बदल्ने भएको छ । अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनदेखि काठमाडौँ उपत्यकामा समेत बलियो उपस्थिति देखाउने सो पार्टीको योजना छ । त्यसैले यहाँ ७ वटा कमान्ड बनेका छन् ।

१. काठमाडौँ, ललितपुर, भक्तपुर
२. चितवन, मकवानपुर
३. धादिङ, नुवाकोट, रसुवा
४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक
५. सिन्धुली, रामेछाप

गण्डकीमा ४ कमान्ड

गोरखा, लमजुङबाहेक गण्डकी प्रदेशमा माओवादी केन्द्र निकै कमजोर अवस्थामा छ । ११ जिल्ला रहेको गण्डकीमा ४ वटा कमान्ड बनाइएको छ ।

१. गोरखा, लमजुङ, मनाङ
२. तनहुँ, नवलपरासी पूर्व
३. स्याङजा, कास्की, पर्वत
४. बाग्लुङ, म्याग्दी, मुस्ताङ

लुम्बिनीमा ४ कमान्ड

माओवादी लुम्बिनी प्रदेशमा बलियो अवस्थामा छ । रोल्पा, दाङ, रुकुम पूर्वजस्ता माओवादीको जनाधार भएका जिल्ला यस प्रदेशमा पर्छन् । प्रदेशको मुख्यमन्त्री पनि माओवादी केन्द्रकै छन् । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा ४ कमान्ड बनाएको छ ।

१. नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु
२. पाल्पा, गुल्मी, अर्घाखाँची
३. प्युठान, रुकुम पूर्व, रोल्पा
४. दाङ, बाँके, बर्दिया

कर्णालीमा ३ कमान्ड

माओवादी केन्द्रबाट संघीय संसद् र स्थानीय तहमा सबैभन्दा बढी प्रतिनिधि भएको प्रदेश हो कर्णाली । अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा कर्णालीकै हुन् ।

१. सुर्खेत, दैलेख, सल्यान
२. जाजरकोट, डोल्पा, रुकुम पश्चिम
३. कालिकोट, जुम्ला, मुगु, हुम्ला

सुदूरपश्चिममा ३ कमान्ड

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन् । ९ जिल्ला भएको यो प्रदेशमा ३ कमान्ड बनाइएको छ ।

१. अछाम, डोटी, बाजुरा
२. बैतडी, बझाङ र दार्चुला
३. कैलाली, कञ्चनपुर, डडेलधुरा

माओवादी केन्द्रले बागमती, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ को प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । बिहीबार लुम्बनी प्रदेश, चैत ६ गते गण्डकी र चैत ८ गते मधेश प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भएको कार्यालय मुख्य सचिव ढकालले बताए ।

माओवादी केन्द्रले चुनावका लागि वाईसीएल व्यापक परिचालन गर्ने भएको छ । केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले हरेक टोलमा वाइसीएलको एकएक वटा टोली बनाइने बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०९:४८