सूचनाको शक्ति - The Power Of Information

        

रुससँग लड्न युक्रेनलाई घातक हतियार दिँदै अमेरिका

अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८०० एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ ।

सैन्य सहायताको निर्णयमा संलग्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दाबी गरेअनुसार स्विचब्लेड–३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्नेछ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने जनाइएको छ ।

अमेरिकी समाचार एजेन्सी एपीले दिएको जानकारीअनुसार निश्चित बिन्दुमा निशाना लगाएर प्रहार गर्न यस्ता ड्रोन निकै उपयोगी हुन्छन् । समाचारमा उल्लेख गरिएअनुसार उक्त ड्रोनले एक माइलभन्दा पनि टाढाबाट प्रहार गर्न सक्छन् ।

समाचारमा उल्लेख गरिएअनुसार स्विचेबल ड्रोनहरु एकपटक मात्र प्रयोग गर्न मिल्छ । मूल्यका हिसाबमा भने यस्ता ड्रोन अन्य मिसाइलभन्दा सस्तो हुन्छ । यी सबै ड्रोनको समग्र मूल्य ६ हजार डलरभन्दा पनि कम रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो मोडलका ड्रोन नेटोमा आबद्ध केही युरोपेली मुलुकमा रहेकाले उक्त मुलुकबाट ड्रोनहरु युक्रेन पठाइनेछ । बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

सम्बोधनपछि अमेरिकी सांसदहरुले उठेर जेलेन्सीप्रति सम्मान व्यक्त गरेका थिए । त्यसलगत्तै अमेरिकाले मिसाइल लगायका सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने चर्चा सुरु भएको थियो । जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए ।

यसका साथै अमेरिकाको युक्रेनमा सैन्य सहयोगको राशी बढेर एक अर्ब डलर पुगेको बीबीसीले जनाएको छ । युक्रेनमा रुसले आक्रमण थालेपछि अमेरिकाले त्यसको विरोध गर्दै प्रतिबन्ध घोषणा गरेको छ । बुधबार मात्रै पत्रकारहरुसँगको भेटमा बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए ।

उनको यो अभिव्यक्तिको रुसले अस्वीकार्य र अक्षम्य भनेर आलोचना गरेको छ । अमेरिकाले युक्रेनलाई गरेको थप सैन्य सहयोग र अमेरिकी राष्ट्रपति बाइडनको पछिल्लो अभिव्यक्तिले रुस–युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०९:२९