सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई भाडा बढेसँगै आमजनताको जनजीवन प्रभावित भएको छ ।
आवतजावतमा मात्रै नभएर दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसमेत ढुवानीमा हवाईमार्ग प्रयोग गर्नुपर्ने बाध्यतामा रहेका यहाँका बासिन्दा हवाई भाडा वृद्धिसँगै मूल्यवृद्धिको मारमा परेका छन् ।
स्थानीय राजबहादुर बोहराले बजार मूल्यमा धान्नै नसक्नेगरी वृद्धि भएको बताए । अहिले उत्तरी हुम्लामा प्रत्येक सामग्रीको मूल्य आकासिएको बताउँदै उनले सडक यातायात नजोडिएका कारण हवाई भाडामा सहुलियत दिनुपर्ने माग गरे ।
हवाई भाडा वृद्धिसँगै प्रतिकार्टाेन (१० लिटर) तीन हजार ९०० रुपैयाँ मूल्य पर्ने खानेतेल धारा तेलको मूल्य अहिले चार हजार २०० रुपैयाँ पुगेको छ । हुम्ला उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले इन्धनको मूल्यवृद्धिको मारमा उपभोक्ता परेको बताए ।
उनले प्रत्येक सामानको सातदेखि १० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा उपभोक्ता प्रत्यक्ष मारमा परेको जानकारी दिए । हवाई भाडा वृद्धिले व्यापारीले स्वाभाविक रूपमा मूल्यवृद्धि गरेको बताउँदै उनले दुर्गम र सडक यातायात नजोडिएको नाताले हवाई ढुवानीमा सरकारसँग अनुदानको व्यवस्था हुनुपर्ने माग गरे ।
सिमकोटबाट नेपालगन्जका लागि यसअघिको हवाई भाडादरमा समेत वृद्धि भएको छ । यात्रु जगवीर रोकायाले यसअघि बढीमा छ हजार १५० रुपैयाँ तिर्दै आएकोमा अहिले त्यो बढेर छ हजार ८२० रुपैयाँ पुगेको सुनाए ।
त्यस्तै, केही दिन अगाडिसम्म ११ हजारमा पाउने नेपालगन्ज सिमकोट टिकट दर ११ हजार ८५५ रुपैयाँदेखि ११ हजार ९०५ रुयैपाँसम्म पुगेको छ । यो निजी एयरलायन्सले फरक–फरक भाडादर निर्धारण गरेर यात्रुबाट असुल्दै आएका छन् ।
यसअघि इन्धनको मूल्यवृद्धि नहुँदासम्म बढीमा प्रतियात्रु ११ हजार १०० रुपैयाँसम्म भाडा लाग्ने गथ्र्याे । तारा एयर नेपालगन्जका प्रमुख दिलीप कार्कीले इन्धनको मूल्यवृद्धिसँगै हवाई र कार्गो भाडादर वृद्धि भएको बताए । कार्गो दर पनि प्रतिकेजी ११० रुपैयाँदेखि १३० रुपैयाँसम्म पुगेको व्यापारीहरुले बताउँदै आएका छन् ।
सत्यपाटी । हुम्ला ।