सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा टाइफाइडविरुद्धको खोप लगाइँदै

 सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाइने जानकारी दिनुभयो । सरकारले उक्त अवधिमा ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिएको छ ।

भारतबाट बुधबार २ लाख भायल खोप नेपाल आएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले ग्लोबल एलाइन्स फर भ्याक्सिनेसन(गाभी)ले नेपालका लागि टाइफाइडको १६ लाख भायल खोप निःशुल्क उपलब्ध गराउने सहमति भएको बताउनुभयो ।

उहाँले एक भायल खोपमा ५ मात्रा हुने र १८ तारिखमा पनि पुनः अर्को खेप खोप नेपाल आउने जानकारी पनि दिनुभयो ।नेपालमा ज्वरो आएका सबैलाई टाइफाइड भनिने गरिए तापनि ज्वरो सबै टाइफाइड नहुने चिकित्सकहरू बताउँछन् ।

उनीहरूका अनुसार टाइफाइड हुनलाई टाइफाइडको किरा उम्रनुपर्छ जसलाई मल्टिड्रग टाइफाइड भनिन्छ । यो खालको टाइफाइड नेपालमा अहिलेसम्म देखिएको र नेपालमा देखिएको टाइफाइड गम्भीर प्रकृतिको ज्यानै जाने खालको नभएको २ वर्षअघि नेपालको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगन्ज अस्पताल र धरान अस्पतालले गरेको बृहत् अनुसन्धान टोलीमा खटिएका एक चिकित्सकले बताए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०७:४०