नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यहीं जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।
चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन् ।
दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडापखाला, आउँजस्ता सरुवा रोगको जोखिम हुने उनको भनाइ छ ।
‘कोभिड घटेपछि धेरै मानिसहरू बाहिर निस्केर खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ । यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँ लाग्छ’, उनले भने ।
पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम बढ्ने डा. पुनले बताए । राजधानी तथा अन्य सहरमा सफा पानीको नाममा जारको पानी पिउने तर जारकै पानी असुरक्षित हुने गरेको र कतिपय समुदायमा अहिले पनि उमालेको पानी पिउने प्रचलन नरहेकाले पानीबाट सर्ने रोगको संक्रमण हुने जोखिम पर्याप्त रहेको चिकित्सक औंल्याउँछन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
सत्यपाटी । काठमाडौँ ।