हुम्लाको सदरमुकाम सिमकोटको एउटा गाउँ करिब ३०० वर्षदेखि ढुङ्गेधारा पानीको भरमा रहँदै आएको छ । ढुङ्गे धारामा बारम्बार पानी आइरहने भएकाले सो गाउँका लागि नयाँ कुनै योजना निर्माण गरेर स्वच्छ पानीको व्यवस्था नगरिएको सो गाउँबासीको भनाइ छ ।
सदरमुकाम सिमकोट गाउँपालिका–६ मा पर्ने पाम्वाडा (माथिल्लो गाउँ)का स्थानीय जुद्ध रोकायाले परापूर्वकालदेखि नै गाउँबासी गाउँ नजिकैको ढुङ्गेधाराको पानी प्रयोग गर्दै आएको बताए । पानी प्रयोगका लागि योग्य भए नभएको हालसम्म कुनै परीक्षण नगरिएको उनले बताए ।
सो धारामा पानी निरन्तर आइरहने भएकाले बिकासे निकायले नयाँ खानेपानी योजनाको निर्माणतर्फ ध्यान नदिएको गाउँबासीको भनाइ छ । पहिला ढुङ्गाकै तीन वटा धारा भए पनि पछि त्यसलाई मर्मत गर्नुपर्ने भएका कारण ढुङ्गाको स्थानमा पाइप जडान गरेर धारा बनाइएको उनले बताए ।
सो ढुङ्गे धाराको विशेषता भनेकै सदाबहार पानी एक नासले आउने गरेको उनको भनाइ छ । सो गाउँका वडाध्यक्ष जयचन्द्र रोकायाले पाम्बाडा गाउँमा मानवबस्ती बसेदेखि धारामा पानी आउनेगरेको बताए । आफ्ना पुर्खाहरुको भनाइलाई आधार मान्ने हो भने कम्तीमा पनि ३०० वर्ष अघिदेखि ढुङ्गेधारामा पानी आउने गरेको विश्वास उनले व्यक्त गरे ।
गाउँलेहरुले मान्ने देवता कालाशिल्ता कैलाशबाट आएदेखि पानी आउन सुरु भएको बुढापाकाको भनाइ रहेको उनले जानकारी दिए । सो धाराबाट १७० घरधुरीका बासिन्दा प्रत्यक्ष लावान्भित हुँदै आएका छन् । सिमकोट बजारमा पानीको समस्या भएकाबेला सिङ्गो बजारवासीले सोही धाराको पानी प्रयोग गर्ने गरेको बताए । धारा मुख्य सडकखण्डमै पर्ने भएका कारण बटुवा तथा सर्वसाधारण त्यसबाट लाभान्वित हुने गरेका छन् ।
सत्यपाटी । हुम्ला ।