सूचनाको शक्ति - The Power Of Information

        

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

क्यान्सर अस्पतालमा पाठेघरको अप्रेसन गर्न ‘ब्राकीथेरापी मेसिन’

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानसँगै पाठेघरको मुखको क्यान्सरको अप्रेसन सुरु गरिएको छ । तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा क्यान्सर बिरामी आउने क्रम सुरु भएको छ ।

देशभरमै वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालपछि खजुरामा मात्रै ब्राकीथेरापी मेसिन रहेको छ । निजी क्षेत्रमा काठमाडौंको नेपाल क्यान्सर अस्पतालले यो सेवा दिइरहेको छ । बर्दिया राजापुरका कमलबहादुर चौधरीले श्रीमतीको पाठेघरको पहिलो र दोस्रो अप्रेसन भरतपुर क्यान्सर अस्पतालमा गराएका थिए ।

तेस्रो अप्रेसन खजुरा क्यान्सर अस्पतालमा गराएका छन् । ‘यही सेवा लिन चितवन र काठमाडौँ जानुपथ्र्यो । खजुरामै सेवा पाएपछि समय, पैसा बचेको छ,’ चौधरीले भने, ‘हप्ता दिनमा तीन पटक अप्रेसन गर्नुपर्छ । टाढा जाँदा बसाइ र खानपिनमै धेरै पैसा खर्च हुन्थ्यो ।’ तीन पटक अप्रेसन गर्दा खजुरामा ४५ हजार रुपैयाँ खर्च लाग्छ ।

निजी अस्पतालमा यही सेवा लिँदा एक लाख खर्च हुने चिकित्सकहरु बताउँछन् । १५ महिना भरतपुर क्यान्सर अस्पतालमा काम गरेका खजुराका मेडिकल फिजिसिष्ट डा.तीर्थराज अधिकारीले खजुरामा ब्राकीथेरापी मेसिन जडान भएपछि चितवन र काठमाडौँबाट समेत बिरामी आउन थालेको बताए ।

अस्पतालमा अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्डबाट रेडियसन अन्कोलोजी फिजिसिष्टको मान्यता पाएका डा.अधिकारी र रेडियसन अन्कोलिष्ट डा.मुकेश यादवले ब्राकीथेरापी सेवा दिइरहेका छन् । डा.अधिकारीले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमा सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताए ।

अस्पतालका निर्देशक डा.कृष्ण आचार्यले खजुरामा नयाँ प्रविधिको प्रयोग बढिरहेको बताए । ‘डिपार्टमेन्टहरु थपिएका छन् । बिरामीको चाप बढ्दो छ,’ निर्देशक डा.आचार्यले भने, ‘अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् ।’ अस्पताल व्यवस्थापन समितिले हालै खजुरा क्षेत्रका बिरामीलाई ओपीडी निःशुल्क गरेको छ ।

समितिका अध्यक्ष किशोर थापा नियुक्ति हुनेबित्तिकै खजुरावासीका लागि ओपीडी निःशुल्क गरेका हुन् । अस्पतालले ओपीडी शुल्क ५० रुपैयाँ लिँदै आएको थियो । खजुरावासीका लागि ओपीडी निःशुल्क गर्दा बिरामीको चाप बढ्ने विश्वास गरिएको छ । महायज्ञबाट संकलित रकमबाट क्यान्सर अस्पतालको निर्माण सुरु गरिएको थियो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा दिइएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार २०:४६