निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा अघिल्लो पटकको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गर्ने भएको छ । चुनावका लागि ५५ देखि ६० हजार मतपेटिका चाहिनेमा सो सङ्ख्याको पुरानै मतपेटिका आयोगसँग मौज्दात रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
सो सङ्ख्याका मतपेटिका आयोगसँग मौज्दात रहेकाले खरिद गर्नु नपर्ने भएको हो । तर मतपत्र ठुलो भएको अवस्थामा केही मात्रामा द्रुत प्रक्रियाबाट ठुला आकारको मतपेटिका खरिद गर्नुपर्ने हुनसक्ने अर्यालको भनाई छ । सहप्रवक्ता अर्यालले भने, ‘विगतकै मतपेटिका प्रयोगबाट निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने अनुमान छ । यदि मतपत्रको ढाँचा ठुलो हुने भयो भने हामीलाई ठुला मतपेटिकाहरू चाहिन सक्छ ।’
उनका अनुसार त्यस्तो अवस्थामा छिटो प्रक्रियाबाट केही मतपेटिकाहरू खरिद गर्नुपर्ने पनि हुनसक्छ । ‘अहिले तत्कालका लागि त्यो अनुमान गरिएको छैन । यदि मतपत्रको ढाँचा ठुलो हुने भयो भने त्यो तुरुन्तै व्यवस्था गर्नुपर्ने पनि हुनसक्छ,’ सहप्रवक्ता अर्यालले भने । स्थानीय तह निर्वाचनका लागि एक मतदाता बराबर एउटा मतपत्र हुन्छ ।
सातवटा चुनाव चिन्ह भएको मतपत्रमा छाप लगाएर मतपेटिकामा खसालिन्छ । आयोगसँग रहेको एउटा मतपेटिकामा झन्डै १ हजार मतपत्र खसाल्न सकिन्छ । उनका अनुसार यदि मतदाता ९०० देखि ११०० सम्म भएमा त्यो बाकसमा अटाएन भने जगेडा मतपेटिका पनि राख्नुपर्ने हुन्छ ।
उनले भने, ‘त्यस आधारमा हामीलाई ५५ देखि ६० हजार सङ्ख्यामा मतपेटिका आवश्यक पर्न सक्छ । यो मात्राको मतपेटिका अहिले हामीसँग छ । यदि मतपत्रको सङ्ख्या ठुलो भयो भने ठुला मतपेटिका पनि चाहिन सक्छ । ठुलो साइजको मतपत्र बन्ने ठाउँका लागि ८५ लिटर क्षमताको ठुलो मतपेटिका चाहिने हुन्छ । यस्ता मतपेटिका सीमित भएकोले त्यसलाई केही बढाउनुपर्ने हुनसक्छ ।’
एक लाख हाराहारी स्वस्तिक छाप चाहिने
आगामी निर्वाचनका लागि झन्डै १ लाख हाराहारी स्वस्तिक छाप चाहिने आयोगको अनुमान छ । निर्वाचनमा २२ देखि २३ हजार मतदान केन्द्र रहन्छन् । प्रत्येक मतदान केन्द्रमा चारदेखि पाँच वटाको दरले स्वस्तिक छाप पठाउनुपर्ने हुन्छ । स्वस्तिक छाप खरिदका लागि बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाइएको आयोगको भनाई छ ।
अघिल्ला निर्वाचनमा स्वस्तिक छाप भारतबाट खरिद गरेर ल्याइने गरिएको थियो । यो वर्ष पनि भारतबाट ल्याउने तयारी रहेको छ । मतपत्र छपाइका लागि प्रयोग हुने कागज खरिदको प्रक्रिया अघि बढिसकेको आयोगले जनाएको छ । मतपत्र छपाइका लागि कति प्रकारका डिजाइन हुने त्यसबारेमा आयोगले छलफल गरिरहेको सहप्रवक्ता अर्यालले जानकारी दिए ।
यस्तै निर्वाचनका लागि करिब ६० प्रकारका निर्वाचन सामग्री चाहिने गर्छ । तीमध्ये आयोगले १५ प्रकारका निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गर्नका लागि अख्तियारी दिएको छ । अर्यालले भने, ‘त्यस्ता निर्वाचन सामग्रीहरू दरबन्दी अनुसार पठाउनुपर्ने हुन्छ । एउटा सानो चिज पनि महत्त्वपूर्ण हुन्छ त्यसकारण त्यस्ता चिजहरू नछुटाईकन पठाउनुपर्ने हुन्छ ।’
धेरै प्रकारका निर्वाचन सामग्रीको खरिद प्रक्रिया अघि बढिसकेको उनले बताए । सहप्रवक्ता अर्यालले भने, ‘कतिपयले कार्यादेश पाइसक्नुभएको छ । कतिपय मूल्याङ्कनको चरणमा हुनुहुन्छ । कतिपय बस्तु तथा सेवा खरिद गर्दा ढिलो भए पनि फरक नपर्नेहरूको पनि सूची तयार पार्ने काम पनि भइरहेको छ । यसरी यथासमयमा पाउने गरी निर्वाचन सामग्री खरिदको प्रक्रिया अघि बढिसकेको छ ।’
आयोगले आगामी चैत १० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । जिल्लाबाट प्राप्त भएको दोहोरो नाम हटाएर मतदाता नामावली प्रकाशन गर्ने तयारी रहेको उनले बताए । साथै निर्वाचनसँग सम्बन्धित केही निर्देशिकाहरू पनि आयोगले तयार पारेको छ । आयोगले मतदाता शिक्षा तालिम कार्यक्रम पनि निर्माण गरिरहेको छ । निर्देशिकाहरुको टुङ्गो लागेपछि मतदाता शिक्षा सामग्रीको टुङ्गो लगाउने र तालिम कार्यक्रम अघि बढाउने योजना राखिएको छ ।
जनशक्तिको व्यवस्थापनका लागि सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई पत्राचार गरेर समयमै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको विवरण तयार गर्नका लागि पत्राचार गरिएको सहप्रवक्ता अर्यालले जानकारी दिए । उनले भने, ‘निर्वाचनका लागि चाहिने महत्त्वपूर्ण कर्मचारीका रूपमा निर्वाचन अधिकृतहरू हुनुहुन्छ । उहाँहरूको नामावली प्राप्त भइसकेर त्यसलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । केही समयमै सार्वजनिक सूचनामै उहाँहरूको नामावली प्रकाशन गर्ने तयारी छ ।’
यसरी निर्वाचन सञ्चालनका लागि चाहिने सामग्री, बस्तु, सेवा लगायत मतदाता नामावली, मतदान केन्द्र, मतदान स्थल लगायतका सम्पूर्ण कुराहरूको तयारी यथासमयमा गर्ने आयोगले आफ्नो कार्यतालिका अनुसार नै आयोगले तयारी गरिरहेको छ । साथै आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र तथा मतपत्र प्रकाशन गर्ने बारेमा विज्ञहरूसँग छलफल पनि अघि बढाइरहेको छ ।
सत्यपाटी । काठमाडौं ।