सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेपालगन्ज उपमहानगरपालिका छाड्दै ‘धवलशमशेर’

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले अब मेयर नलड्ने उद्घोष गरेका छन् ।

डा.राणाले आफू दुई पटक मेयर भइसकेकाले अब संघमा जाने बताएका छन् । ‘२०५४ र २०७४ सालमा मेयर भएँ । यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके,’ मेयर डा.राणाले भने ।

उनले आफू मेयर हुँदा नेपालगन्जमा धेरै काम गरिसकेको पनि दावी गरेका छन् । मेयर डा.राणाले भने, ‘मेयर हुँदा यहाँका धेरै काम गरिसके, अब संघमा गएर देशको विकास गर्छु ।’

मेयर राणाले आफूले चुनावमा पैसा नदिने र जितेपछि पैसा लिएर काम नगर्ने बताए । उनले जनतालाई पापको पैसा नलिन र पैसा बाँड्ने दललाई भोट पनि नदिन आग्रह गरे ।

मेयर राणाले नेपालगन्जको त्रिभुवन चोकमा राजाको शालिक पुनः ठड्याएको र त्यसलाई भत्काएमा नगरमा रहेका अरु नेताहरुको शालिक बाँकी नरहने चेतावनी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १३:०९