सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै कर्मचारीसँग जिसस प्रमुख हैरान

जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी हुन् खेमप्रसाद चौधरी । उनी २०७८ पुस ९ गतेदेखि यहाँ कार्यरत छन् । त्यही कार्यालयका प्रमुख छन् फैरु तामाङ । तर, उनीहरूबीच अहिलेसम्म भेटघाट भएको छैन ।

‘चौधरी मुख्यमन्त्रीको कार्यालयबाट रमाना लिएर यहाँ पुस ९ गते आएका हुन्,’ मंगलबार पत्रकार सम्मेलनमा समन्वय प्रमुख तामाङले भने, ‘कतिबेला आउँछन्, कतिबेला जान्छन्, कुनै पदाधिकारीलाई जानकारी छैन, पदाधिकारी र कार्यालयका कर्मचारीसँग समन्वय तथा भेटघाट पनि हुँदैन । दैनिक कार्यालयमा नआइ एकमुष्ठ हाजिर लगाउँछन् ।’

पुसमा हाजिर भएका चौधरीले साउनयताको तलब माग गरेको उनले सुनाए । ‘यहाँ हाजिर हुनुभन्दा पहिलाको सेवासुविधा नपाएपछि चौधरी समिति र पदाधिकारीमाथि अनावश्यक आरोप लगाइरहेका छन्,’ उनले भने, ‘पदाधिकारीहरूलाई दुर्व्यवहार गर्दै आएका छन्, उनलाई कामै नगरेको समयको तलब कसरी दिनु ?’ चौधरीकै कारणले समन्वय समितिका नियमित काम प्रभावित भइरहेको उनको आरोप छ ।

‘चौधरी यहाँ हाजिर भएदेखि गैरजिम्मेवारीपूर्वक कार्यालयमा मनोमानी ढंगले उपस्थित हुने, हाजिरी लगाउने र कार्यालयको नियमित काम नगर्नेलगायत अमर्यादित तथा कानून विपरीतका काम गर्दै नीतिगत भ्रष्टाचार गरिरहेका छन्,’ तामाङले भने, ‘समितिका पदाधिकारी, कर्मचारीहरूको तलबभत्ता निकासा गरेका छैनन्, कार्यालयलाई अस्तव्यस्त बनाएका छन् । आवश्यक कारबाहीका लागि प्रशासन तथा मन्त्रालयमा पत्राचार गरेका छौं ।’

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १२:०७