सूचनाको शक्ति - The Power Of Information

        

म्यादी प्रहरीले के–के पाउँछन् सुविधा ?

सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १० लाख जना जनशक्ति माग गर्दै दरखास्त आह्वान गरिसकेको छ । म्यादी प्रहरीमा भर्ना हुनेका लागि यसपटक सरकारले सेवा सुविधामा केही वृद्धि गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ ।  उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ ।

उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।

यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ । म्यादी प्रहरी हुन चाहनेले चैत १३ गते आवेदन माग गरिएका सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ भने छनौट प्रक्रिया चैत १५, अन्तिम नतिजा चैत २२ र प्रशिक्षण सुरु चैत २८ देखि हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १०:११