सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ ।

भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।

अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ ।

परिषदको सह–अध्यक्षमा डिबि थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरि उपाध्यक्ष तथा इन्चार्जहरु, प्रदेश नं १ मा चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा रामबहादुर थापा, बागमती प्रदेशमा लवराज थापा मगर, गण्डकी प्रदेशमा रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा इश्वरी प्रसाद पाण्डे, सुदुर पश्चिम प्रदेशमा ईश्वर थापा छन् ।

यसैगरी सचिवमा केवेन्द्र जङ्ग गुरुङ, सानुराम कटवाल, सुवर्ण रोक्का, तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा विष्णु बहादुर गिरी रहेका छन् ।

परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताउनु भएको छ ।

उहाँले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने बताउनु भएको हो ।

नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरु देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताउनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ०९:२१