नेपाल प्रहरीको एआइजीमा बढुवा गर्न तीन डीआइजीको नाम सिफारिस गरिएको छ । मंगलबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआइजी वसन्तकुमार पन्तलाई पहिलो नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।
दोश्रो र तेश्रो नम्बरमा क्रमशः केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत धिरजप्रताप सिंह र कार्य निर्देशनालयमा कार्यरत रवीन्द्रबहादुर धानुक सिफारिस भएका छन् । यसपटक एआईजी सिफारिस गर्दा पनि सरकारले वरीयता र कार्यक्षमता नहेरी आफन्त नै माथि ल्याएको छ । धिरजप्रताप सिंह मात्रै कार्यक्षमताका आधारमा अगाडि थिए ।
तर पन्तलाई देउवा र धानुकलाई अर्थमन्त्रीको कोटाबाट एआइजी बनाइएको हो । उनीहरुको बढुवाले संगठनभित्र असन्तुष्टि बढेको छ । अर्थ मन्त्रालयबाट एआईजीको दरबन्दी थप गर्न सहमति लिँदै अर्थमन्त्री शर्माको कोटाबाट धानुकलाई एआईजी बनाउने सहमति भइसकेको थियो ।
आकांक्षीको दबाबमा सरकारले तीनै एआइजी अघिल्लो ब्याचबाट गर्ने वा पछिल्लो ब्याचबाट धिरजप्रताप सिंहलाई मात्रै बढुवा गर्ने तयारी गरेको थियो । तर, अर्थमन्त्री शर्माले रवीन्द्रबहादुर धानुकलाई पूर्वसहमति अनुसार कुनै पनि हालतमा बढुवा गर्नुपर्ने अडान लिएपछि अघिल्लो ब्याचबाट पन्त मात्रै परेका हुन् ।
पन्त डडेल्धुराकै भएकाले पनि देउवाको रोजाइमा परे । पन्तलाई एआइजी बनाउन जिल्लाको नेताबाट पनि देउवालाई दबाब थियो । चुनाव नजिकिएकाले पनि देउवा जिल्लाका नेताको मन राख्न पन्तलाई डेढ महिने एआइजी बनाउन तयार भए । डडेल्धुराकै गणेशबहादुर ऐरको पनि चर्चा थियो । तर उनी डीआइजीबाटै पछि परेकाले देउवाको रोजाइमा ऐरभन्दा पन्त परे ।
पन्त आगामी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदैछन् । उनलाई प्रहरी किताब खानाले अवकाशको पत्र बुझाइसकेको श्रोतले जानकारी दियो । तर अवकाशको पत्र गोजीमा बोकेका पन्तले जिल्लाको प्रधानमन्त्री भएको फाइदामा एआइजी पद उपहार पाए । २०४९ वैशाख १९ गते भर्ना हुँदा पन्त १४ औँ नम्बरमा थिए ।
डीएसपीमा बढुवा हुँदा ब्याचका सबै डीआइजी भन्दा अन्तिममा १५ औँ स्थानमा बढुवा भएका थिए । २०५८ सालमा डीएसपी भएका पन्त २०६७ सालमा एसपी हुँदा पनि १३ औँ स्थानमा मात्रै परे । एसएसपीमा पनि उनी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्कीभन्दा पछि नै थिए ।
२०७६ चैतमा डीआइजीमा बढुवा हुँदा पनि घनश्याम अर्याल र प्रकाशजंग कार्कीभन्दा पछि नै रहेका पन्तले एआईजीमा भने देउवाको आशीर्वाद पाए । यो ब्याचबाट शैलेश थापा क्षेत्री आइजीपी छन् भने हरि पाल, निरज शाही र प्रद्युम्न कार्की एआइजी छन् । अन्य डीआईजीमै अवकाश हुँदा पन्तले भने अन्तिम समयमा बाजी मारेका हुन् ।
पन्तसँगै एआइजी बढुवाको सिफारिसमा परेका धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकका लागि भने भावी आइजीपीको बाटो पनि खुलेको छ । नेपाल प्रहरीमा वैशाख १९ गतेबाट नयाँ आइजीपी नियुक्त हुनेछन् । प्रहरी नियमावलीमा एआइजीबाटै आईजीपी बनाउन सक्ने व्यवस्था रहेकाले सिंह र धानुकलाई पनि सरकारले चाहे आईजीपी बनाउने बाटो खुलेको छ ।
एआइजीको दरबन्दी थप नै भावी आइजीपी बनाउनका लागि गरिएको प्रहरीभित्रैका कतिपयको बुझाइ छ । विश्वराज पोख्रेल र सहकुल थापालाई अघिल्लो सरकारले एआईजी बनाएकाले उनीहरुलाई आईजीपी नबनाएर सिंहलाई आइजीपी बनाउन सक्ने आकलन समेत गरिएको छ ।
एक वर्ष पहिले नै एआइजी भएका विश्वराज पोख्रेल भने हालको एआइजी बढुवासँगै तनावमा छन् । सहकुल थापालाई पनि पोख्रेलको विकल्पमा आइजीपीका लागि अघि सारिएको बुझाइ थियो । उनीहरु दुवै जना फरक समयमा एकल बढुवा भएका हुन् । धिरज सिंह आफ्नो ब्याचबाट हरेक पटक पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए ।
धानुक ब्याचमा पछाडी परेका भए पनि अन्तिममा जनार्दन शर्माले च्याप्दा एक्कासि अगाडि आएका हुन् । एआइजी बढुवाले नेपाल प्रहरीका आकांक्षी डीआइजीहरु भने असन्तुष्ट छन् । बढुवा समितिको सिफारिसअनुसार सरकारले एआइजीमा नियुक्त गर्ने निर्णयपछि मात्रै उनीहरु एआइजीमा पदोन्नति हुनेछन् ।
सत्यपाटी । काठमाडौं ।