नजर जुधेदेखि गजल, लेख्दै लेख्दै आए ।
सयौंथरी मनमा सपना, देख्दै देख्दै आए ।।
धड्कियो तेजसङ्ग मुटु, घोरिएर उनले हेर्दा ।
निहुँरिएर आफ्नै मुहार, छेक्दै छेक्दै आए ।।
सपनामा रैछु म, झस्किए आँखा खुलेपछि ।
तिम्रा लागी कोरेका शब्द, मेट्दै मेट्दै आए ।।
मुस्काउदै तिमीलाई, अर्कैको साथमा देखेर ।
छरिरहेका सिसाका टुक्रा, टेक्दै टेक्दै आए ।।
जति पीर भए पनि, हासी खुशी जिउनुपर्ने ।
जीवनको रीत सम्झे मन, सेक्दै सेक्दै आए ।।
मोबाइलमा वाइफाइ नभए, डाटा हुन्छ अचेल ।
सुक्को नभए पनि दुई चार, खाता हुन्छ अचेल ।।
को आफ्नो को पराई चिन्न, धन खोज्छ मान्छे ।
आफन्त मारेर गोरु बेचेको, नाता हुन्छ अचेल ।।
लुटेराको संरक्षण गर्छन्, मान पदवी उस्लाईनै ।
निर्दोषलाई कठघरा कुट्न, भाटा हुन्छ अचेल ।।
पिरतीको मैदानमा हारदा, मुटु हुन्छ चिराचिरा ।
निश्चल माया जोख्न हरदम, काटा हुन्छ अचेल ।।
एक्लै हिड्दा संघर्षमा, हिम्मत हार्नुहुँदैन कैले ।
शिखर चुम्न लाखौं हजार, बाटा हुन्छन् अचेल ।।
नपुरिने घाउ दियौं, मार्न सक्छौं मार ।
सँगै हिँडेको गोरेटो बार्न सक्छौं बार ।।
कठोर संघर्षले खारिएको मान्छेलाई ।
लडाउन चारै दिशा चार्न सक्छौं चार ।।
हिरा पनि पथर नै हो चिन्न सक्नुपर्छ ।
बगरमा भेटाउछौं, खार्न सक्छौं खार ।।
घमण्ड के को लागि छाडी जानै पर्छ ।
सङ्गाली हर्ष भागमा पार्न सक्छौं पार ।।
हेर्दा सुन्दर देखिन्छ पूर्णिमाको जून ।
अञ्जुलीमा समेटेर झार्न सक्छौं झार ।।
गोमा सापकोटा ‘स्मृति’ ।