सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्षमा बाँकेमा ३२७ नवजात शिशुको मृत्यु

बाँके जिल्लामा गत तीन आर्थिक वर्षमा ३२७ नवजात शिशुको मृत्यु भएको छ ।

गर्भवती आमाको हेरचाहमा लापरबाही हुँदा यतिधेरै शिशुको ज्यान गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार गत तीन आर्थिक वर्षमा बाँकेमा ३२७ जना नवजात शिशुको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १९, आ.व. २०७६/०७७ मा १९७ र आ.व. २०७७/०७८ मा १११ जना नवजात शिशुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताइन् ।

उनका अनुसार गर्भवती आमाको पोषणमा कमी, घरमै बच्चा जन्माउँदा, जन्मिएको बच्चाले तत्कालै स्वास्थ्य उपचार नपाउँदा अधिकांश नवजात शिशुको ज्यान गएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको तथ्याङ्कअनुसार आ.व. २०७७/०७८ मा १०३ जना मरेका बच्चा जन्मिएका थिए ।

जन्मिएको सात दिनभित्र मृत्यु हुने शिशुको सङ्ख्या ३६ रहेको छ । सात दिनपछि नौ जनाको मृत्यु भएको थियो । यस्तै आ.व. २०७६/०७७ मा १४४ जना मरेका बच्चा जन्मिएका थिए, ३९ जनाको सात दिनभित्र मृत्यु भएको थियो ।

सुगम मानिने बाँकेका जिल्लामा अझै पनि धेरै महिला सुत्केरीका लागि अस्पताल नआउँदा शिशुको मृत्यु दर यतिधेरै भएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स श्रेष्ठले बताइन् । उनले अझै पनि चेतना बढाउने तथा सुत्केरीहरू सहज रूपमा अस्पतालसम्म पुग्ने वातावरण बनाउनुपर्ने आवश्यकता आँैल्याइन् ।

स्वास्थ्य सर्वेक्षण तथ्याङ्कअनुसार नेपालमा एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । ती नवजात शिशुमध्ये धेरैको मृत्यु जन्मिएको २४ घण्टाभित्रमा हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ०७:४३