सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर अस्पताल परिसरभित्र हाइमास्ट लाइट जडान गरिने

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल विकास समितिले अस्पताल परिसरभित्र हाइमास्ट लाइट जडान गर्ने निर्णय गरेको छ । अस्पताल विकास समितिको मंगलबार बैठकले अस्पताल हातामा हाइमास्ट लाइट जडान गर्ने निर्णय गरेको हो ।

अस्पताल विकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेसँगै सकारात्मक चर्चा बटुलिरहेका बेला अस्पताल परिसरभित्र हाइमास्ट लाइट जडान गर्ने निर्णय गरेको छ ।

बैठकले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत र साधारण र आजिवन सदस्यहरुलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णय गरेको क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले बताए ।

‘खजुरा क्यान्सर अस्पताल निर्माणको सुरुवातदेखि नै आर्थिक तथा अन्न दान गरी निर्माण र हालसम्मको अवस्थामा ल्याउन संस्थापक सदस्यहरु तथा साधारण र आजिवन सदस्यहरुको योगदानलाई कदर गर्दै हामीले यो निर्णय गरेका हौं,’ अध्यक्ष थापाले भने ।

बैठकपछि कुराकानी गर्दै अस्पताल विकास समितिका अध्यक्ष थापाले भने, ‘आवश्यकता महसुस गरेरै अस्पताल परिसरभित्र हाइमास्ट लाइट जडान निर्णय गरेका छौँ ।’ यसले अस्पतालको सेवामा टेवा पुग्ने विश्वास लिएको अध्यक्ष थापाले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १७:०३