सूचनाको शक्ति - The Power Of Information

        

इन्कारी बयानपछि पल शाहलाई गैंडाकोटबाट तनहुँ पुर्‍याइयो

एकजना नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले नवलपुरको गैंडाकोटमा इन्कारी बयान दिएका छन् ।

गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाको लगिएका उनले त्यहाँ पनि नाबालिक गायिकालाई आफूले बलात्कार नगरेको बयान दिएका छन् । शाहले तनहुँमा पनि ती नाबालिग गायिकाको कोठामा छिरे पनि सँगै नसुतेर आफ्नै कोठामा फर्किएको बयान दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले आवश्यक बयान र सोधपुछ सकिएपछि पललाई तनहुँ नै फर्काइएको जानकारी दिएको छ । नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि दमौलीमा जस्तै आफूलाई जवरजस्ती करणी गरिएको भन्दै नाबालिका गायिकाले पलविरुद्ध जाहेरी दिएकी थिइन् ।

पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएका थिए । पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिइएको थियो ।

शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ । त्यो पनि अब सकिन लागेको छ । प्रहरीले सरकारी वकिलमार्फत दुवैतिर मुद्दा अदालत लैजाने तयारी गरेको छ । शाहले जाहेरी परेको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा गिरफ्तारी दिएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १५:५०