सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन तयारीमा जुटे दलः मतदाता तान्न आरोप–प्रत्यारोप

प्रमुख राजनीतिक दलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका साथै त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन्।

अन्य पार्टीका नेता तथा कार्यकर्ता तान्न मात्र होइन, अर्को पार्टीलाई खराब प्रमाणित गरेर आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरू नै अग्रसर भएका छन्।

जनताको मन जित्न निर्वाचन लक्षित नयाँ अजेन्डा, कार्यक्रम लिएर जनतामाझ जानु स्वाभाविक भए पनि दलका शीर्ष नेताहरूले एकअर्कालाई होच्याउँदै नयाँनयाँ कार्ड फाल्न थालेका छन्।

आफ्नो प्रभाव देखाउन अन्य दलका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गराउने होड सुरु भएको छ। त्यही क्रममा एक दर्जन स्थानीय तहका प्रमुख र उपप्रमुखले नै निर्वाचन मिति घोषणापछि दल अदलबदल गरेका छन्। यो क्रमले तीन तहको निर्वाचन नसकिँदासम्म निरन्तरता पाउनेछ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आइतबारदेखि एकमहिने अभियान लिएर जिल्ला हुँदै टोलसम्म पुग्ने लक्ष्य बनाएको छ। सत्ता गठबन्धनमा रहेका राजनीतिक दलप्रति कांग्रेसले केही नरम रणनीति बनाएको छ।

तर प्रमुख प्रतिपक्षी एमालेप्रति कांग्रेस आक्रामक बन्ने देखिएको छ। २०७४ को आमनिर्वाचनपछि गठन भएको केपी ओली नेतृत्व सरकारको गलत कामको सूचना गाउँ तहसम्म पुर्‍याउने रणनीति उसले अख्तियार गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०८:१०