सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ रुसी सञ्चारकर्मी भन्छिन्, ‘आफ्नै देशसँग लाज लागिरहेको छ, युक्रेनसँग घुँडा टेकेर माफी चाहन्छु’

रुसमा केही समय अगाडिदेखि मात्र लागु भएको एउटा कठोर स्वतन्त्र प्रेसविरोधी कानुन पश्चात् त्यहाँका धेरै सञ्चारकर्मीहरू देश छाडेर गइसकेका छन्, जसमा अन्तर्राष्ट्रिय मिडिया सीएनएन र न्युयोर्क टाइम्सका पत्रकारहरू छन् ।

तर न्यु टाइम्स म्यागजिनकी प्रमुख सम्पादक वरिष्ठ रुसी सञ्चारकर्मी येभजेनिया एल्बेट्सले चाहिँ रुसमै बस्ने निर्णय गरिन् । सीएनएनसँगको कुराकानीमा उनले आफू रुस प्रशासनसँग नडराउने बताएकी छन् ।

उनी भन्छिन्, ‘म कुनै सहिद होइन । तर पनि कसैले त केही गर्नैपर्छ जस्तो लाग्यो ।’ उनकाअनुसार अहिलेसम्म १६० उत्कृष्ट रिर्पोटरहरू रुसबाट बाहिरिसकेका छन् । एल्बेट्सले आफ्ना युट्युब च्यानलमा पनि विभिन्न खबरहरू पोस्ट गर्ने गरेकी छन् जुन ‘फेक न्युज’ कानुनको उल्लंघन हुन सक्ने हुँदा उनलाई सजिलै जेल सजायँ दिलाउन सक्छ ।

तर, एक अत्यन्तै अनुभवी सञ्चारकर्मी भएको हुँदा जेलबाट बच्दै उनले होसियारिपूर्वक रिर्पोटिङ गरिरहेको बताइन् । सरकारसँग डराएर बस्न अब धेरै ढिला भइसकेको उनी बताउँछिन् । ‘हो उनीहरूले मलाई मार्न सक्छन् । तर मलाई कसैले पनि म सँधै बाँचिरहनेछु भन्ने बाचा गरेको छैन । एक न एक दिन सबैलाई मर्नु नै छ,’ उनले भनिन् ।

यसअघि अन्तर्राष्ट्रिय पुरस्कारप्राप्त अमेरिकी सञ्चारकर्मी बेन्ट रेनोड रुसी बलको हमलामा मारिएका थिए । अधिकारीहरूका अनुसार रुसी फौजको गोली लागेर उनको मृत्यु भएको हो । यसरी अहिले डर चिन्ता भन्दा पनि उनलाई आफ्नै देशसँग एकदमै लाज लागेको एल्बेट्स बताउँछिन् । आफू बच्चैदेखि छिमेकी युक्रेनमा घुम्न गइरहने गर्दै आएकाले पनि यस घटनाले भित्रैबाट दुःखी बनाएको उनले बताइन् ।

उनका अनुसार रुसका धेरै विज्ञहरूले यस्तै महसुस गरिरहेका छन् । उनी भन्छिन्, ‘मलाई एकदम लाज लागिरहेको छ कि मैले तिरिरहेको सबै कर युक्रेनका मानिसहरूलाई मार्न बनाइएको बममा प्रयोग भइरहेको छ । त्यसैले मलाई अहिले घुँडा टेकेर माफी माग्न मन छ । मेरो देशले यस्तो गरिरहेको प्रति म युक्रेनलाई हृदयदेखि क्षमा माग्न चाहन्छु ।’

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०७:२८