कर्णाली प्रदेशसभाका सांसद ठम्मर विष्टले सांसद पदबाट राजीनामा गरे पनि सनाखत गर्न भने आएका छैनन् । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतकसमेत रहेका विष्टले सांसद पदबाट गएको शुक्रवार राजीनामा दिएका थिए ।
विष्टले चार दिनअघि इमेलमार्फत प्रदेशसभामा राजीनामा पेश गरेका थिए । सभामुख राजबहादुर शाहीले राजीनामा पत्र प्राप्त भए पनि स्वीकृत भने नभएको जानकारी दिए । त्यसका लागि सनाखत गर्न सांसद विष्ट प्रदेशसभामा आउनुपर्ने जनाए ।
‘प्रदेशसभा सचिवालयको इमेलबाट राजीनामा पत्र प्राप्त भएको थियो,’ सभामुख शाहीले भने, ‘राजीनामा स्वीकृत गर्न उहाँ आफै प्रदेशसभामा सनाखत गर्न आउनुपर्ने हुन्छ ।’ एमसीसी पास गर्दा पार्टी सहमत भएको, गैरसांसदलाई मन्त्री बनाएको र पार्टीमा राजनीतिक विचलन आएको भन्दै उनले सांसद पद र नेकपा माओवादीबाट राजीनामा पत्र पेश गरेका हुन् ।
‘सत्ताको लागि जे पनि गर्ने रणनीतिले जनयुद्ध, जनआन्दोलन, शहीद, घाइते, बेपत्ता परिवार र आम जनतामा निरासा मात्र होइन परिणामतः आम जनतामा कुठाराघातसमेत गरेको पुष्टि भईसकेको छ’ राजीनामा पत्रमा उल्लेख छ, ‘यस्ता स्खलनका अनेक श्रृंखला मध्य एमसीसी यसैको निरन्तरताको अर्को श्रृंखला रहेको पुष्टि भइसकेको छ ।’
सत्यपाटी । सुर्खेत ।