पछिल्लो समय ग्रामीण युवा व्यावसायिक पशुपंक्षी पालनमा आकर्षित हुन थालेका छन् । कोरोनाले रोजगारी गुमाएका र अन्य काम छाडेका युवाहरु आम्दानीको स्रोत बढाउन कुखुरापालन र कालिज पालनमा जुटेका हुन् ।
कुखुरा र कालिजपालन व्यवसाय शुरु गरेपछि युवाहरु आत्मनिर्भर हुँदै गएको बताएका छन् । शारदा नगरपालिका–४ रातामाटाका २२ वर्षीय लालबहादुर कुमाईले ६ लाख रुपियाँ लगानी गरेर कुखरा पालन शुरु गरेका छन् ।
कुनै बेला कुखरा बेच्न खलङ्गा सदरमुकाम धाउनुपर्ने बाध्यता अहिले उनलाई छैन । घरमै कुखरा लैजान ब्यापारीहरु आउने गरेको उनको भनाइ छ । उनले भने, ‘स्थानीय र लेस जातका ४०० कुखुरापालन व्यवसायबाट घर खर्च चलाउन सजिलो भएको छ ।’
कुमाख गाउँपालिका–३ मर्मका २१ वर्षीय लक्ष्मण बुढामगरले व्यावसायिक कालिज पालन शुरु गरेका छन् । आइएसी एजी (कृषि विज्ञान) मा अध्ययन गरेका उनले श्रीनगर बजार नजिकै जग्गा भाडामा लिएर २३ लाख रुपैयाँ लगानीमा कालिज पालन गरेको बतँए ।
बिएसी एजी पढ्न काठमाडौं गएका बेला कोरोना महामारीका कारण शिक्षण संस्था बन्द भएपछि उनले यो व्यवसायमा लागेको बताए । उनले भने, ‘उपभोक्तालाई कालिजको मासु उपलब्ध गराउन र चल्ला उत्पादन गर्ने लक्ष्यकासाथ फार्म सञ्चालनमा ल्याएका छौं ।’
थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने, छोटो समयमा फाइदा लिन सकिने र बजारको समस्या नभएका कारण पछिल्लो समय अन्य कृषकभन्दा युवाको संख्या यो व्यवसायमा बढी देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुमाई र बुढाजस्तै व्यावसायिक पन्छीपालनमा लाग्नेको संख्या सल्यानमा १९७ पुगेको छ । कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्दै गइरहेको सल्यानमा वार्षिक ४ लाख किलोभन्दा बढी कुखुरा उत्पादन हुने गरेको व्यवसायीको भनाइ छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले कोरोना भाईरसका कारण रोजगारी गुमाएका धेरै युवालाई व्यवसायमुलक काममा युवाको आकर्षण बढेको बताए । उनकाअनुसार पंक्षीपालन व्यवसायिक सुरुवातले स्वरोजगार बृद्धिमा टेवा पुगेको छ ।
पशुपालन उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रवद्र्धन कार्यक्रम अघि वढाएको छ । अघिल्नो वर्षजस्तै यस वर्ष पनि पशु नश्ल सुधार, दुध उत्पादन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा ५ करोड ६० लाख रुपैयाँ बराबरका कार्यक्रम सल्यानमा सञ्चालन गरिएको उनीहरुको भनाइ छ ।
सत्यपाटी । सल्यान ।