सूचनाको शक्ति - The Power Of Information

        

पढाई खर्चका जुटाउन तरकारी खेती गर्दै विद्यार्थी

तरकारी खेतिबाट मनग्य आम्दानी हुने भएपछि तरकारी खेतिबाटै स्नातकोत्तरसम्मको पढाई खर्चको जोहो गर्नमा विद्यार्थी लागेका छन् । परम्परागत रैथाने बालीबाट घरखर्च धान्न समस्या भएपछि विद्यार्थीले तरकारी खेतीमा लागेर राम्रो आम्दानी गरेका छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका भामवडा गाउँमा तरकारी ब्यबसाय सञ्चालन गर्दै आएका बिर्खबहादुर भामले तरकारी खेती गर्न ६ रोपनी जग्गामामा दुई लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

उनले सदरमुकाम गमगढी बजारमा दिनप्रतिदिन तरकारी खेतीको माग बढेपछि आफूहरु त्यसतर्फ लागेको बताए । तरकारी खेतीबाट गरेको आम्दानीले काठमाडौंमा गएर स्नातकोत्तरको पढाई गर्ने तयारी आफूले गरेको भामले बताए ।

उनकाअनुसार प्याज, लसुन, बन्दा, काउली, टमाटर र रायो साग उत्पादन गरी तरकारी बजारमा बिक्री गरी बार्षिक तीन लाख जति आम्दानी भइरहेको छ । बेमौसमी तरकारी उत्पादनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

कृषि विकास कार्यालयले जिल्लाका उत्कृष्ट कृषकलाई वार्षिक १५ हजारसम्म नगद पुरस्कार वितरण गर्ने गरेको कार्यालय प्रमुख खेमराज शाहीले बताए । जिल्लाका उत्कृष्ट कृषकलाई बार्षिक एक लाख रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको उनको भनाई छ । जिल्लामा तरकारी खेती गर्ने कृषकको उच्च मूल्यांकन गरी आवश्यक बजेट सहयोग गरिने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १९:२२