सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

नयाँ भर्ना अभियान वैशाखभित्रै, विद्यार्थी भर्ना भौतिक उपस्थितिमै

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ ।केन्द्रका  अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमा परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्नेछ ।

नयाँ भर्ना पनि वैशाखमै थाल्नु भनिएको छ । पठनपाठन भने जेठ १ गतेबाट थाल्ने निर्णय भएको छ । कोभिड–१९ का कारण यसअघि नै नयाँ भर्नासमेत प्रभावित भएको थियो । अहिले परिस्थिति सहज बन्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड तथ्यांकअनुसार संक्रमण दरसँगै जोखिम घटेकाले सरकारले रोक लगाएको शैक्षिक, आर्थिक, व्यावसायिक सबै क्षेत्र खोल्न अनुमति दिइसकेको छ । परिस्थिति सहज बनेकाले यस पटकको भौतिक उपस्थितिमै नयाँ भर्ना गराइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।

उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस नै चाहिँ हुँदैन ।’ उनका अनुसार सरकारले नेपालमा कोभिड प्रवेश गर्नुअघिसम्म वैशाख १ गते नारा जुलुस नै गरी नयाँ भर्ना अभियान सञ्चालन गरेको थियो । तर कोभिड महामारी चलेपछि ती सबै रोकिएको थियो ।

‘पहिलाजस्तै गरी भर्ना अभियान थाल्छौँ’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) केन्द्रीय अध्यक्ष टीकाराम पुरी अघिल्ला वर्षझैँ गरी यसपटक नयाँ भर्ना कार्यक्रम सञ्चालन गर्ने बताउँछन् । ‘अब त कोरोनाको धेरै जोखिम छैन,’ उनले भने, ‘त्यसैले वैशाखमा कोभिडअघि जसरी भर्ना कार्यक्रम सञ्चालन गरेका थियौँ, त्यहीअनुसार देशभरि भर्ना कार्यक्रम सञ्चालन हुन्छ ।’

अध्यक्ष पुरीका अनुसार वैशाख १५ गतेदेखि प्रभावकारी ढंगले भर्ना कार्यक्रम सञ्चालन गरिनेछ । भौतिक उपस्थितिमा विद्यार्थी भर्ना गरिनेछ । ‘हामी सूचना पनि प्रकाशित गर्छौँ, सम्भव भएसम्म कार्यक्रम आयोजना पनि गरेर भर्ना गराइनेछ,’ उनले भने । चालू शैक्षिक सत्र गत असार १ मा शुरु भएको थियो ।

मन्त्रालयले कोभिडको जोखिम कायम रहेकाले भौतिक उपस्थिति नभई वैकल्पिक माध्यमबाट भर्ना कार्यक्रम थाल्न आग्रह गरेको थियो । निजी र सामुदायिक विद्यालयले पनि जोखिम मध्यनजर गरी टेलिफोन, अनलाइन, म्यासेन्जरलगायत माध्यमबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका थिए ।

भर्नाका लागि प्रवेश परीक्षा तयारी 

काठमाडौं उपत्यकाभित्र ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल, ललितपुरकै रातो बंगला स्कुललगायत केही चलेका निजी विद्यालयले कानुनी प्रावधानविपरीत पनि भर्ना गर्न इन्ट्रान्स (प्रवेश परीक्षा) लिने गर्छन् । यसका लागि तयारी कक्षासमेत सञ्चालन भइरहेको छ ।

करियर एकेडेमी प्राइभेट लिमिटेडले प्रवेश परीक्षाको विज्ञापन गरिरहेको छ । कक्षा पनि सञ्चालन गरिरहेको छ । एकेडेमीले फेसबुक पेजमा राखेको छ, ‘आफ्ना बालबालिकालाई जेभियर्स तथा सेन्ट मेरिज स्कुलको कक्षा १ को प्रवेश परीक्षा त्यही स्कुलका शिक्षकद्वारा सञ्चालित एकेडेमी विगत २१ वर्षदेखि ९८ प्रतिशत भर्ना गराउन सफल भएको छ ।’

लगनखेल, कलंकी, वनस्थली, महाराजगञ्ज तथा बानेश्वर क्षेत्रमा शाखा रहेको उक्त एकेडेमीमा भर्ना गराई बालबालिकाको उज्जवल भविष्यको बाटो अपनाऔँ भनेर पनि फेसबुकमा पोष्ट गरिएको छ । केही अरु विद्यालयले गत माघ २३ गतेको श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिनमा पनि नयाँ विद्यार्थी भर्ना लिइसकेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १६:५०