सूचनाको शक्ति - The Power Of Information

        

छलफलकै क्रममा निर्वाचन आचारसंहिता : आयोग

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताएका हुन् ।

‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । त्यसपछि आयोगले निर्णय गरेदेखि लागु हुन्छ,’ पौडेलको भनाइ छ ।

उनले साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधिनमा रहेर निर्णय गर्ने बताए ।

‘प्रचलित कानुनको अधिनमा रहेर के गर्न सकिन्छ त्यसबारे आयोगले सोचिरहेको छ, तर निर्णय भैसकेको छैन,’ पौडेलको भनाइ छ ।

त्यस्तै आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगमन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
आयोगले निर्वाचन खर्चिलो नहोस् भन्नका लागि आयोग आफैले पनि कतिपय खर्च कटौती गरेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

‘यसमा दलहरुले पनि आचारसंहिताको पालना गर्नुपर्छ । निर्वाचन भड्किलो बनाउनु हुँदैन भन्ने कुरालाई सवैले स्वीकार गर्नुपर्छ,’ प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले कतिपय निर्वाचन सामग्री नेपालमा उत्पादन नहुने भएकाले ति सामग्री बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको पनि जनाएको छ ।

‘स्वस्तिक छाप यहाँ उपलव्ध हुन्न । त्यसकारण त्यस्तो चिज बाहिरबाट ल्याउनुपर्ने हुन्छ,’ प्रवक्ता पौडेको भनाइ छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १६:४०