सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय चुनाव गराउन चैतमा म्यादी प्रहरीको भर्ना

म्यादी प्रहरी । फाइल तस्वीर ।

स्थानीय चुनावलाई लक्षित गर्दै आगामी साता म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । नेपाल प्रहरीले चैतको पहिलो सातादेखि म्यादी प्रहरीको भर्ना खोल्ने गृहकार्य थालेको हो । निर्वाचनको निम्ति नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ ।

मतदान केन्द्रको संख्यालाई ध्यानमा राख्दै म्यादी प्रहरी भर्नाको प्रक्रिया थालिएको नेपाल प्रहरीका सूचना अधिकारी विष्णुकुमार केसीले बताए । हालका लागि म्यादी प्रहरीको अवधि जम्मा ४० दिनको हुनेछ । ४० दिनमा रासन, तलब, भत्ता र पोशाक गरेर प्रत्येक म्यादी प्रहरीले ४४ हजार रुपैयाँ पाउने छन् ।

यसका लागि अर्थमन्त्रालयले ४ अर्ब ३९ करोड बजेट निकासा गरेको छ । निर्वाचनका लागि प्रहरीले थप गाडी खरिद गर्न बजेटको समेत माग गरेको थियो । तर, अर्थ मन्त्रालयले सवारीको लागि बजेट भने निकासा नगरेको सूचना अधिकारी केसीले जानकारी दिए । भर्नामा अवकाशप्राप्त सेना र प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ ।

अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने नेपाल प्रहरीको बुझाइ छ । गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा गरेको छ । यो पटकको चुनाव एउटै चरणमा सक्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १६:०३