जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ ।
पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ ।
छाउपडी प्रथा समाजकै कुरीति भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।
महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छाउपडीजस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले भनिन्, ‘छोराछोरीबीच गहिरो विभेद छ । छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइरहेको छ ।’
यी दुवैलाई गाउँपालिकाबाट छाउपडी निर्मूल पार्न अभियान थालिएको उपाध्यक्ष रोकायाले बताइन् । छोरीलाई छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको छ ।
गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिएकामा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरेको छ । छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन् ।
भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक छ । समाज अझै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ । सो कामलाई अन्त्य गर्न स्थानीय सरकार लागिपरेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।
गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पति दिएको विवरण गाउँपालिकाले सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।
सत्यपाटी । जुम्ला ।