सङ्गीतकर्मी प्रकाश सपुतको नयाँ गीत ‘पिर’ले नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याइदिएको छ । शुक्रबार रिलीज भएको उक्त गीत हालसम्म करिब ३.७ मिलियनभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । अहिले युट्युबको ट्रेण्डिङमा छ । माओवादी आन्दोलन र त्यसमा लागेका कार्यकर्ताहरुको युद्धपछिको कष्टकर जीवनलाई गीतले दर्शाउन खोजेको छ ।
तर कतिपय माओवादी नेता कार्यकर्ताले उक्त गीत हटाउनुपर्ने र गायक तथा सर्जक सपुतले माफी माग्नुपर्ने भन्दै सामाजिक संजालमा आक्रोशसमेत व्यक्त गरेका छन् । गीतको भिडियोमा माओवादी जनयुद्धमा लागेका अधिकांश कार्यकर्ताको हालको दुराबस्थालाई कलात्मक तवरले प्रष्फुटन गरिएको छ ।
गीतमा अभिनित कलाकारहरुले युद्ध पश्चात कार्यकर्ताकोे जीवनलाई निकै मार्मीक ढंगले उजागर गरेका छन् । गीतको दृश्यमा एक माओवादी महिला लडाकु बाध्यता र अभावले देहब्यापारमा लागेको देखाइएको दृश्यको बिरोध माओवादीका नेता कार्यकर्ताहरुले गरिरहेका छन् । माओवादी आन्दोलनका बिषयमा सृजनाको माध्यमबाट भएको टिकाटिप्पणी यो मात्रै नयाँ होइन ।
अरु कैयौँ सर्जकहरुले बिभिन्न समयमा अन्य साहित्यिक बिधाहरुमार्फत आलोचना हुँदै आएको हो । पछिल्लो विकसित समयमा युट्युव र सामाजिक संजाल सबैको पहुँचमा भएको र अत्यन्त छिटो प्रवाह हुने भएकाले तत्कालै प्रतिकृया आएको हो । लेख, रचना, कथा, उपन्यासको माध्यमबाट पनि सर्बत्र आलोचना र माओवादी युद्धमाथि विषबमन यो भन्दा अगाडिदेखि नै भएको यथार्थ हो ।
माओवादीका नेता कार्यकर्ताहरुले प्रकाश सपुतको यो गीतलाई लिएर उनको आलोचना गरिरहँदा अन्य कयौंले भने प्रकाश सपुतमाथि रोष प्रकट गर्नुभन्दा आफ्ना नेताहरुलाई खबरदारी गर्न समेत आग्रह गरेका छन् । माओवादी आन्दोलनमा लागेका साँस्कृतिक कर्मीहरु यो गीतले जनयुद्धको बीद्रुपीकरण गरेको आरोप लगाइरहेका छन् ।
नीहरु गीतको अरु दृश्य यथार्थपरक भए पनि महिला लडाकुले देह ब्यापार गरेको दृश्य राखिनु आपत्तिजनक भएको आरोप लगाउँछन् । सपुतको पिरलाई लिएर माओवादी आन्दोलनमा लागेका नेता कार्यकर्ताहरुको आक्रोश र सहानुभूति दुबै सतहमा आएको छ । माओवादी आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका डा.बाबुराम भट्टराईले सपुतप्रति सहानुभुति दर्शाएका छन् ।
उनले अधुरो क्रान्तिको उपज नेता कार्यकर्ताहरुको जीवन कष्टप्रद बनेको स्वीकार्दै नयाँ क्रान्तिलाई पूर्णता दिन लाग्ने कि सर्जकलाई धम्की दिने भनी कटाक्ष गरेका छन् । त्यस्तै सामाजिक संजालमै माओवादी नेता शक्ति बस्नेतले चुनाबको सन्निकट आएको सपुतको पिर अन्तस्करणको आवाज हो या प्रायोजित भनी प्रश्न गरेका छन् ।
उनले चुनाबको सम्मुखमा आएको यस गीत कतै माओवादीबिरुद्ध प्रायोजित तवरले आएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सपुतको गीतले चुनावी परिणाममा प्रभाव पार्ने शंशय उनको अभिव्यक्तिमा देखिन्छ । माओवादी आन्दोलनकी अर्की गायीका तथा कलाकार लक्ष्मी गुरुङ पनि यो अपमानको पराकाष्ठा भएको बताउँछिन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘यो महिलामाथिको अन्याय हो । देह ब्यापार महिलाले मात्र गर्छन् ?’ माओवादीका युवा विद्यार्थी नेताहरुले धम्कीपूर्ण भाषामा गीत हटाउन चेतावनी समेत दिएका छन् । विद्यार्थी नेतृ पञ्चा सिंहले नहटाएमा गैर जिम्मेवारी हर्कत सहेर नबस्नेसम्मको चेतावनी सामाजिक संजालको माध्यमबाट दिएकी छिन् ।
माओवादी जनयुद्धका बहुचर्चित गीतका गायक तथा सास्कृतिककर्मी प्रदिप देवान गीतले जनयुद्धको बलीदान र त्यागलाई बिद्रुपीकरण गरी त्यसलाई अपराधीकरणको दिशातर्फ उन्मुख गराउने प्रयत्न गरेको ठान्दछन् । उनले भने, ‘गीत समग्रमा ठीक छ तर अन्त्यतिरको दृश्यमा यसले महिला छापामारहरु हाल अभावले देह ब्यापार गरिरहेका छन् भन्ने आशयको गलत संदेश दिएको छ । यो निन्दनीय छ ।’
उनका अनुसार गीतले जनयुद्धमा सहभागी महिला छापामारको अपमान र उपहास गरेको छ । सपुत कुनै राजनीतिक दलको कार्यकर्ता भएको भए यो स्वभाबिक हुने उनको तर्क छ । एउटा स्वतन्त्र सर्जकले एउटा पार्टी बिशेषलाई मात्र सिर्जनाको माध्यमबाट प्रहार गरिँदा त्यहाँ पूर्वाग्रह झल्कने उनको भनाइ छ । उनले भने, ‘बेथिति कहाँ छैन, कुन दलमा छैन ? के अरु पार्टीका कार्यकर्ताहरु अपहेलित पीडित छैनन् ?’
यसरी एउटै पार्टीको कमजोरी माथि प्रहार गर्ने ब्यक्ति सबैको साझा कलाकार बन्न नसक्ने उनको तर्क छ । बेथिती बिकृती उजागर गर्ने हो भने सबैको गर्नुपर्ने देवानको जोड छ । उनी भन्छन्, ‘होइन भने त कुनै पार्टीको कार्यकर्ताजस्तो न भयो माओवादीको मात्र कमजोरी उजागर गर्ने अरुको नगर्ने हो भने त कसैबाट प्रायोजितजस्तो न देखिन्छ ।’ गीतले उठाएका अरु बिषयबस्तुहरु अहिलेको यथार्थता नै रहेको देवानको बुझाइ छ ।
नेताहरुको जीबनशैली र कार्यकर्ताहरुको जीबनको यथार्थता दर्शाइएकोमा सहमत छन् । माओवादी आन्दोलनको भ्रष्टीकरण र नेतृत्वको बेवास्ताका कारण वर्तमान अवस्था आएको देवानले स्वीकार गरे । उनले अगाडि भने, ‘समग्रमा नेतृत्वको कमजोरी र बेवास्ताका कारण कार्यकर्ताहरु कष्टकर जीवन जिउन बाध्य छन् । यसरी आक्रमण गर्नु भनेकै माओवादीको बिचलन र नेतृत्वको लाचारीपनमाथि सर्जकहरुकोे ब्यङ्ग्य हो ।’
माओवादी कार्यकर्ताहरुले बिरोध गरेर गीत हटाउन चेतावनी दिनु कत्तिको जायज छ भन्ने प्रश्नमा गायक तथा सर्जक देवान भन्छन्, ‘कुनै पार्टीबिरुद्ध उठेपछि कार्यकर्ताले बिरोध गर्नु स्वभाबिक नै हो समग्रमा देशको बेथिति औँल्याएको भए सबैलाई मान्य हुन्थ्यो तर माओवादीविरुद्ध प्रयोग भएजस्तो देखिएपछि कार्यकताको आलोचना बिरोध हुनु स्वभाविक नै हो ।’
माओवादी आन्दोलनका अर्का गायक तथा संगीतकार मोहित श्रेष्ठ जसले जनयुद्धमा थुप्रै गीत गाएका थिए । उनका गीत सुनेर युद्धकालमा प्रचण्ड बाबुराम रोएका दृश्य अझै पनि देख्न सकिन्छ । उनले गीत आपत्तिजनक नै रहेको भन्दै सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन् । उनले गीतले माओवादी आन्दोलनमा निस्वार्थ भावले लागेका कार्यकताहरुको भावना माथि खेलवाड गरेको बताउँछन् ।
नेतृत्वको गल्तीको कारण कार्यकर्ताको त्यागलाई उपहास गर्ने अधिकार कसैलाई नभएको उनको प्रष्टोक्ति छ । श्रेष्ठले आफूहरु जनयुद्धमा ब्यक्तिगत लाभ हानी सोचेर नलागेको भन्दै अगाडि लेखेका छन् ‘हामीलाई दुख लाग्यो हिजो एउटा सपना बोकेर निस्वार्थ भावले हिँडियो आज यसरी अपमान र उपहास गरिदा दुख लागेको छ ।
‘कसैले स्वार्थपूर्तिको लागि लडाएको भए तापनि ती लड्नेहरु त इमान्दारीपूर्वक लडेका हुन् नि । उनीहरुको इमान्दारितालाई खिसीट्युरी गर्न मिल्दैन,’ उनले भने, ‘जुन बिषयलाई मसलाका रुपमा प्रयोग गर्न खोजियो त्यो आपत्तीजनक छ । न हार न जित भएको बर्तमान अबस्थामा केही कमजोरीलाई उठाएर समग्र आन्दोलनमा लागेकामाथि आक्रमण गरिनु निन्दनीय छ ।’
माओवादीको मूल नेतृत्वको कारण वर्तमान अवस्था आएको यथार्थतालाई स्वीकार्दै श्रेष्ठले भने, ‘हिजोका योद्धाहरुको आजको जीविकोर्पाजन नै गलत छ भनेर देखाएर उनले के गर्न खोजेका हुन् ? यो पाटो बिचारणीय छ । विशुद्ध माओवादी आन्दोलनमा लागेकाहरु माथिको आक्रमण हो ।’ उनले बैचारिक राजनैतिक रुपले परिपक्व माओवादी कार्यकर्ताले जस्तोसुकै प्रतिकूलतामा पनि नैतिक र चरित्रहीन कार्य गर्न नसक्ने दाबी गरे ।
यदि कसैले गर्छ भने त्यो व्यक्ति साँचो अर्थमा हिजो पनि माओवादी थिएन र आज पनि छैन भन्ने उनको निष्कर्ष छ । माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले प्रकाश सपुतको उक्त गीत आपत्तिजनक रहेको बताइन् । उनले सपुतलाई त्यस्तो देखिएको भए प्रमाणसहित पेश गर्न चुनौतीसमेत दिइन् । उनले भनिन्, ‘यस्तो सेन्सेटिभ बिषयलाई हल्का ढंगले देखाएर सस्तो लोकप्रियताको लागि जे गरे त्यो आपत्तिजनक छ, खानकै लागि शरीर बेचेको कुराले ठूलो अपमान भएको छ ।’
उनको आक्रोश सपुतभन्दा उनकै पार्टीका पूर्व नेता बाबुराम भट्टराईप्रति बढी देखिन्थो । ‘बाबुरामजीले जीबिकोर्पाजनको लागि देह ब्यापार गर्दैछन् भनेर जसरी गायकको बचाउ गर्नु भएको छ, बाबुरामले कहाँ देख्नुभयो उहाँले किन उनीहरुको लागि केही गर्न सक्नुभएन ?’ उनले आक्रोशित हुँदै भनिन्, ‘हिजो अभिभावकीय जिम्मेवारी लिएर कार्यकर्तालाई क्रान्तिमा लाग्न उहाँले उत्प्रेरित गरेको होइन ? आज कष्टप्रद अवस्थामा उद्धार गर्ने उहाँको जिम्मेवारी होइन् ?’
आफूलाई प्रकाश सपुतको गीतभन्दा बाबुरामको अभिव्यक्ति आपत्तिजनक लागेको उनले बताइन् । सपुतले उक्त गीत माफी मागेर हटाउनु नै बुद्धिमत्तापूर्ण हुने घर्तीको सुझाव छ । उनले भनिन्, ‘कि त प्रमाणित गर्नुपर्यो होइन भने आत्माआलोचित भएर भिडियो हटाउनुपर्यो ।’ नत्र परिणाम गम्भीर हुने उनले चेतावनीसमेत दिएकी छिन् ।
तपाईंहरुको बेबास्ताले नै कार्यकर्ताहरुको कष्टप्रद अवस्था भएको बिषयमा कति जानकार हुनुन्छ, भन्ने प्रश्नमा घर्तीले भनिन्, ‘हरेक चीजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ नै पार्टीबाट केही कमजोरी भएकै छ । तथापी निरपेक्ष रुपमा कमजोरीलाई मात्रै औँल्याएर समग्र आन्दोलन र योद्धाहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । कि त ठोस प्रमाण ल्याएर आउनुपर्यो । होइन भने कसैबाट प्रायोजित रुपमा अपमान गर्न मिल्दैन ।’ घर्तीले प्रमाण पेश गर्न या तत्काल गीत हटाएर माफी माग्न गायक सपुतलाई चुनौती दिएकी छिन् ।
विवाद र चर्चामा आएको गीत पिर बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस गरेको उनले प्रस्ट पारेका छन् ।
गीतले भन्ने चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’
’पिर’बाट आफुले युद्धकै जग–बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीत मार्फत आफुले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।
‘मलाई लागेको, यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् । ‘जसरी यसअघिका गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड/छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ,’ उनले लेखेका छन् ।
उनले गीतको पृष्ठभूमिका बारेमा समेत लेखेका छन् । उनले लेखेका छन्, ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने–बजाउने–पकाउने–पस्कनेमध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु ।
प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’ । यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरू पढें । आममानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यही हो ।’ एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने, पूरै बुझाई बुझाउन पनि नसकिने उनको भनाइ छ ।
गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु । माफि मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ ।
त्यसो हो भने मुना–मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यतिधेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो ।
अब भिडियो नै हटाउँदा पो युद्ध–आन्दोलन–गणतन्त्र–स्वतन्त्रताको अपमान हुने हो कि ? म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो, आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग–सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।
कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष–विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ । तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो ।
भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु । यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु । कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ, न अल्झाउँ । किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन् । गाउनुपर्ने कयौं, गित छन् । र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन् । प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस् । धन्यवाद
Design : Aarush Creation
सत्यपाटी । काठमाडौं ।