सूचनाको शक्ति - The Power Of Information

        

सल्यान अस्पतालका स्वास्थ्यकर्मी श्रम शोषणमा

जिल्ला अस्पताल सल्यानका स्वास्थ्यकर्मीहरूले श्रम शोषणमा परेको बताएका छन् । नियमित ड्युटीभन्दा बढी सेवामा खटिँदा समेत अस्पतालले त्यसबापतको कुनै सेवा सुविधा नदिएको बताएका छन् ।

अस्पतालका इन्डोर इन्चार्ज शुलोचना महर्जनले आफूहरू ड्युटी समयभन्दा बढी काम गरे पनि काम गरेबापत सेवा सुविधा नपाएको गुनासो गरिन् । अस्पतालमा एक सुत्केरी गराए बापत आफूहरूले पाउने भत्ता समेत नपाएको उनको गुनासो छ ।

स्टाफ नर्सहरूको कमी हुँदा तोकिएको समयभन्दा बढी काम गर्दै आइरहेको र काम गरे बापतको पाउनुपर्ने सेवा सुविधा नपाएको महर्जनले बताइन् । अस्पताल विकास समितिका अध्यक्ष सिपी ओली अस्पतालमा आयस्रोत कम भएका कारण स्वास्थ्यकर्मीहरूले पाउने सेवा सुविधा दिन नसकिएको बताउँछन् ।

पहिले घाटामा रहेकाले अस्पताल अहिले केही सुधार हुँदै आएको बताउँदै उनले अबदेखि अस्पतालबाट आउने जम्मा आम्दानीको ४० प्रतिशत स्वास्थ्यकर्मीको सेवा सुविधा दिने निर्णय भएको बताए ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले कम बजेट पठाएपछि समस्या भएको बताए । कार्यालय सहयोगी समेतलाई एउटै बजेटबाट तलब खुवाउनु पर्दा समस्या भएको उनको भनाई छ । तर, स्वास्थ्यकर्मीहरूले प्रदेशले सरकारले दिने सेवा सुविधा पाइरहेको बताए ।

स्वास्थ्यकर्मीले सुत्केरी बनाएबापत पाउने भत्ता दिन केही ढिलाइ भए पनि छिट्टै प्रदान गर्ने तयारी भइरहेको व्यवस्थापक श्रेष्ठले बताए । अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ०९:३६