सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रचण्डले कार्यकर्तालाई भने, ‘तपाईहरु ‘पिर’बाट उत्तेजित नहुस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको ‘पिर’ गीतबाट उत्तेजित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुदूरपश्चिम पार्टी प्रशिक्षणको सिलसिलामा धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै उत्तेजित नहुन कार्यकर्ताले भनेका हुन् ।

उनले कार्यकर्तालाई भने, ‘यो गीतबाट तपाईहरु उत्तेजित नहुनुस्, संयम् बन्नुस् ।’ उनले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताए ।

उनले भने, ‘तर्क वितर्क हुन्छन्, त्यसलाई स्वाभाविक रुपले लिनुपर्छ ।’ उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनुपर्ने अवस्था नरहेको पनि बताए ।

प्रकाश सपुतको माओवादी जनयुद्धमा आधारित गीत सार्वजनिक भएपछि माओवादीका नेता तथा कार्यकर्ताले यसको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ०९:३१