प्रियजन/मान्यजन ! सामाजिक संजालमा बिशेषतः माओवादी केन्द्र निकट साथीहरूले समकालीन लोकसंगीतका सर्वाधिक सफल र लोकप्रिय गायक/मोडल तथा म्युजिक भिडियो निर्देशक प्रकाश सपुतलाई बहिष्कार गर्नुपर्छ, जहाँ भेट्यो त्यहीँबाट लखेट्नुपर्छ भनेको सुन्दा र देख्दा मेरो मनभित्र कौतुहलताको छाल उर्लिएर सगरमाथा छुन खोजिरहेको थियो ।
माओवादी केन्द्र निकट साथीहरुले त्यसो भन्नुको कारण थियो, प्रकाश सपुतको नयाँ म्युजिक भिडियोमा जनयुद्धमा सहभागी महिला छापामारहरुलाई देहब्यापारमा संलग्न रहेको आरोप लगाइएको छ भन्ने । साथीहरूको आक्रोश आवेग र उत्तेजना हेर्दा मलाई लाग्यो ‘प्रकाश सपुतजस्तो आशा गरिएको प्रतिभाबाट समेत ऐतिहासिक जनयुद्ध र त्यो जनयुद्धमा सहभागी महिला छापामारहरुको मानमर्दन र हुर्मत लिने निकै तल्लो स्तरको कुकर्म भएछ !’
आफ्नै आँखाले उनको त्यो भिडियो नहेरी मनले मान्दै मानेन । प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘पिर’लाई दोहोर्याई तेहर्याई हेरे । प्रकाश सपुतको नयाँ म्युजिक भिडियो हेरिसकेपछि अब म मेरो विवेक र ब्रम्हले जे देख्यो त्यो तपाईमाझ साझा गर्दैछु । पहिलो कुरा त उक्त म्युजिक भिडियोमा कसैले यो स्तरको आपत्ति जनाइहाल्नुपर्ने खालको कुनै पनि सामाग्री समावेश छैन ।
दोस्रो कुरा कुनै पनि सर्जकले सिर्जना गर्दा पात्र ठोस गरेर उसको जीवन र दैनिकीलाई आफ्नो कला गला र लेखनमार्फत अभिव्यक्त गर्ने हो, सबै पात्रहरुको ठेक्का सर्जकले लिएको हुँदैन । जस्तो देवकोटाले मुनामदन लेख्दा नेपालका सबै मानिसको ब्यथा मुना र मदनको जस्तो थिएन ।
झलकमान गन्धर्वले ‘आमाले सोध्लिन्, खोइ छोरा भन्लिन् ?’ भन्ने गीत गाउँदा पनि नेपालका सबै मानिसहरू विदेशी फौजमा सामेल भएर लड्दा लड्दै रणभूमिमा बिरगती प्राप्त गरिरहेका थिएनन् । कुनै बेलाका लोकप्रिय लोकगायक बमबहादुर कार्कीले ‘अच्छा ब्यापारी’ गाउदा पनि नेपालका सबै महिलाहरु बम्बईको कोठीमा बेचिएका थिएनन् ।
गीत संगीत, कला/साहित्य, चलचित्र तथा अन्य जुनसुकै सिर्जनामा त्यस्ता विषयबस्तु समेटिएका हुन्छन्, जसले आम मानिसको जीवनमा कुनै सरोकार राख्दैनन । अतः प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘पिर’मा समाबेश शब्द/संगीत र दृश्यहरुले पनि कुनै पात्र विशेषबाहेक जनयुद्धमा सामेल आममहिला छापामारहरुको जीवनसँग कुनै सरोकार राख्दैन भन्ने मेरो निष्कर्ष छ ।
आज जनयुद्धमा सामेल कैयन कमान्डरहरु/सिपाहीहरु खाडिको तातो हावा खाइरहेका छन् । घाइते अपाङ्गहरु एक छाक खाना र नानाको अभावमा मर्दै र बाँच्दै गरिरहेका छन् । अझ मौसम परिवर्तनसँगै उनीहरुको शरीरमा रहेका गोली र छरराहरुले दिने पीडा र कटाउनुपर्ने अनिँदो रातहरुको व्याख्या गर्ने शब्द नेपाली शब्दकोषमै भेट्न मुस्किल पर्छ होला ।
युद्वकालका कठिन दिनहरुमा पटुकीमा रोटी बोकेर जङ्गलसम्म पुर्याउने र त्यसवापत गोली खाने मानिसका परिवारजनको बिजोग हेरिनसक्नुको छ । मुक्ति र आजादीको सपनामा बत्तीमा पुतली पोलिन तँछाडमँछाड गरेझै आफुलाई बलिबेदिमा होम्न तँछाडमँछाड गरेका योद्वाहरुको आत्मा र तिनका परिवारजनको अनुहार पढ्न सक्ने लिपी यो दुनियाँमा बनेको छ जस्तो लाग्दैन ।
जनयुद्धका कारण ब्यक्ति र समाजको जीवनमा परेका त्यस्ता थुप्रै प्रभावहरु छन्, जसलाई स्वर शब्द र दृश्यमा उतार्न बाँकी नै छ । जनयुद्धबाट प्राप्त केही सिमित उपलब्धीहरु त छन्, तर ती उपलब्धीहरु पनि दिनप्रतिदिन बदनाम र अस्वीकार्य बन्दै गइरहेको जिउँदो तथ्य तपाई हामी सबैको सामु छर्लङ्ग छ ।
गणतन्त्र, संघियता, समानुपातिक/समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षताले घाइते तथा सहिद परिवारको जीवनमा, आफ्नो जिन्दगीका महत्वपूर्ण समयहरु कुर्वान गरेका तमाम नौ जवानहरुको जीवनमा र आम जनताको जीवनमा के परिवर्तन ल्याउन सकेको छ ? ठोस रुपमा यी प्रश्नहरुको जवाफ कोहिसङ्ग छ ? ८० प्रतिशतभन्दा बढी भुइँ मान्छेहरुले नबुझ्ने यी शब्दजाल र ब्यवस्थाले समाजका आम मानिसहरुलाई के दियो ?
प्रिय् कमरेडहरु ! एउटा गायकले पात्र विशेषको पीडालाई आफ्नो कलामार्फत अभिव्यक्त गर्यो भनेर १० बित्ता उफ्रिएर बिरोध गर्ने र आक्रोशित हुने कि थोरै भए पनि लाज मान्ने ? लाज लाग्छ भने जनताको बीचमा जाऔं, उनीहरुसँगै बसौं, उनीहरुसँगै खाऔं, जनताको वास्तविक पीडालाई नजिकबाट हेरौं ।
सकभर प्रकाश सपुतहरुले अर्को म्युजिक भिडियोमा यस्ता पात्र र तिनको कथा लेख्न/गाउन र बोल्न नपर्ने गरी काम गरौं । आफू पजेरो चढेर यस्ता पात्रहरुलाई सडकमा नछाडौं । सडकमा छाड्दै हिँडियो भने भोलि थुप्रै प्रकाश सपुतहरुले यस्ता थुप्रै सामाग्री सार्वजनिक गरिदिने छन् । कतिन्जेलसम्म कति जनाको मुख थुन्दै हिड्ने ?
अन्तमा ०६२ देखि नै पार्टी र सत्ताको तर मार्दै हिँडेका ठेट्नाहरुले प्रकाश सपुतको बिरोध गर्नु, बहिष्कार गर्छु भन्नू र आक्रोशित हुनुको कुनै तुक छैन । मेरो बिबेक र ब्रम्हले यो भिडियो जनयुद्धका नायकहरु प्रचण्ड, बाबुराम, वैद्य र विप्लवहरुलाई देखाउनुपर्छ र समाजमा यस्ता समस्याहरु बाँकी रहुन्जेल प्रकाश सपुतहरुलाई प्रोत्साहन दिइनुपर्छ । (फेसबुकबाट)
डम्बर बिष्ट ।