सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी मुलुकको हितमा रहेको छ : मन्त्री कार्की

सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी मुलुकको हितमा रहेकाले सार्वभौम संसदले पारित गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आइतवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासमा एमसीसीले योगदान पुर्याउने बताए । विद्युत र सडक पूर्वाधार विकासमा एमसीसी कोशेढुंगा सावित हुने उनको भनाई छ ।

सत्ता साझेदार दलहरुबीच चुनाव तालमेल हुन्छ कि हुँदैन भन्ने पत्रकारहरुको जिज्ञासामा मन्त्री कार्कीले आवश्यकता र औचित्यका आधारमा सत्ता साझेदार दलहरुका बीचमा चुनावी तालमेल हुन सक्ने बताए ।

अहिलेको राजनीतिक अवस्थालाई गहिरोसंग विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय लिइने उनको भनाई । विशेष परिस्थितिमा बनेको गठबन्धन भएकाले आवश्यकता अनुसार सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुन सक्ने मन्त्री कार्कीले स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले पार्टीले स्थानीय तहमा जीत हासिल गर्न सके मात्रै प्रदेश र संघमा जित्ने आधार बन्ने बताउँदै स्थानीय निर्वाचन जित्नैपर्छ भन्ने अठोटका साथ लाग्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

आइतवारदेखि शुरु हुने एक महिने चुनावी अभियानलाई सफल बनाउन कार्कीले सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार १८:०३