सूचनाको शक्ति - The Power Of Information

        

अध्यक्ष नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको अदालतले जनाएको छ । आदेश अनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुने छ ।

अदालतले नेपालसहित १४ सांसदलाई गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दै छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा रिट दायर गर्नुभएको थियो । नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमालेले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार १८:००