सूचनाको शक्ति - The Power Of Information

        

१८ महिने नाबालिकाको बलात्कारपछि हत्या, दुई पक्राउ

  • मादकपदार्थ सेवन गरेर आमाको हत्या

मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए ।

बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए । २७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो ।

पक्राउ परेका दुवैजनाले ललाईफकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए । घटनामा संलग्न दुवैजनालाई प्रहरीले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको हो ।

उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् ।

यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा जेल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए ।

यसैबीच, आफ्नै आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका–१ नयाँबस्तीका एक युवक पक्राउ परेका छन् । ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार १७:५५