सूचनाको शक्ति - The Power Of Information

        

अर्याल, पन्त र सिंह एआइजीमा बढुवा सिफारिस सूचीमा

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिस गर्ने तयारी भएको छ । आइतबार नै बस्न सक्ने बढुवा समितिले हालै थप गरिएका दरबन्दीमा तीन एआइजी सिफारिस गर्न लागेको हो ।

बढुवा समिति बस्नुअघि नै तीन जना डीआइजीको नाममा सहमती भइसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । डीआइजीहरू घनश्याम अर्याल, वसन्त पन्त र धीरजप्रताप सिंहलाई एआइजीमा सिफारिस गर्न लागेको हो ।

अर्याल र पन्त आइजीपी शैलेश थापाकै ब्याची हुन् । सिंह भने त्यसको १० महिनापछि भर्ना भएका हुन् । एआइजी विश्वराज पोख्रेल र सहकुल थापाकै ब्याची हुन् धीरज सिंह । तर यो सिफारिसमा सत्ता साझेदार माओवादी केन्द्रले भने असन्तुष्टि जनाएको छ । माओवादीबाट रवीन्द्र धानुकलाई एआइजी बनाउनुपर्ने अडान थियो ।

तर घनश्याम अर्यालको नाम अघि सारिएपछि माओवादी असन्तुष्ट भएको हो । अर्याल र पन्त भने आगामी वैशाख १९ गते आइजीपी थापासँगै अवकाश हुनेछन् । गृहसचिवको नेतृत्वमा हुने बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका एक सचिव सदस्य र आइजीपी सदस्य सचिव हुन्छन् ।

एआइजीको दौडमा अघिल्लो ब्याचका ईश्वरबाबु कार्की र पछिल्लो ब्याचका उत्तमराज सुवेदी, रवीन्द्र धानुक र वसन्त लामाको पनि जोड थियो । तर सरकारले अघिल्लो ब्याचबाट दुई जनालाई बढुवा गर्ने तयारी गरेसँगै उनीहरु वैशाखमा मात्रै एआईजी हुने सम्भावना बढेको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार १७:४४