सूचनाको शक्ति - The Power Of Information

        

इरानले एकाबिहानै हान्यो इराकमा दर्जन क्षेप्यास्त्र

उत्तरी इराकको कुर्दिस क्षेत्रीय राजधानी मानिने एर्बिलमा इरानबाट आइतबार बढीमा १२ वटा ब्यालिष्टिक क्षेप्यास्त्र प्रहार भएको छ ।

तीमध्ये अधिकांश अमेरिकी कन्सुलेट बिल्डिङनजिकै खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सीहरुका अनुसार इराक र अमेरिकाका सरकारी अधिकारीहरुले क्षतिबारे फरक फरक कुरा बताएका छन् ।

त्यसबाट अमेरिकातर्फ कुनै हताहती वा घाइते नभएको र क्षेप्यास्त्रको निशाना पनि अमेरिकी कन्सुलेट भवन नभएको बताइएको छ । बगदादमा रहेका एक इराकी अधिकारीले सुरुमा धेरै क्षेप्यास्त्रले कन्सुलेट भवनमा निशाना बनाएको र त्यही नै यसको लक्ष्य रहेको बताएका थिए ।

तर पछि कुर्दिस्तानका विदेशी मिडिया कार्यालयका प्रमुख लक गफारीले कुनै पनि क्षेप्यास्त्रले अमेरिकी कन्सुलेटमा प्रहार नभएको तथा त्यसको कम्पाउन्डमा भने खसेको बताए ।

अमेरिकी रक्षा अधिकारीले परिचय गोप्य राख्दै बताएअनुसार कतिवटा क्षेप्यास्त्र प्रहार भएको र कहाँ ती क्षेप्यास्त्र खसेको भन्ने एकीन नभएको बताए । अमेरिकी स्टेट डिपार्टमेन्टका एक प्रवक्ताले यसलाई इराकी सार्वभौमिकतामाथिको आक्रमण तथा हिंसाको उद्घाटनका रुपमा यसको प्रतिक्रिया दिएका छन् ।

एर्बिलको स्वास्थ्य मन्त्रालयका अनुसार कुनै घाइते वा मृत्यु भएको छैन । ‘धेरै क्षेप्यास्त्रहरु एर्बिल सहरमा खसेका छन्,’ एर्बिलका गभर्नर ओमिद खोसनलाई उद्धृत गर्दै इराकी समाचार संस्था आईएनएले जनाएको छ ।

ती गभर्नरले पनि अमेरिकी कन्सुलेट भवनलाई निशाना बनाइएको वा अमेरिकी नेतृत्वको इस्लामिक स्टेट समूहविरुद्ध लड्ने लडाकुको बेस रहेको विमानस्थललाई निशाना बनाइएको प्रस्ट नभएको बताए ।

कुर्दिस्तानका प्रधानमन्त्री मस्रुर बार्जानीले उक्त घटनालाई आतंकवादी आक्रमण भन्दै भर्त्सना गरेका छन् । सिरियाली राजधानी दमास्कसमा इजरायलले इरानी रिभोल्युसनरी गार्डका दुई जनालाई मारेको धेरै दिनपछि इरानबाट इराकमा क्षेप्यास्त्र प्रहार भएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार १२:२३