सूचनाको शक्ति - The Power Of Information

        

टिप्पणी

‘पिर’को ऐनामा प्रचण्ड र उनका अनुयायीको अनुहार

प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ ।

यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ ।

गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर, पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ, शक्तिशालीका विरुद्ध जाने आँट । पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण हुन् ।

शक्तिशालीहरूले आफूले गरेको अन्याय र अत्याचारको प्रमाण मेटाउन पीडा, कुण्ठा र निराशाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने गर्छन् । शक्तिशालीहरूको भाष्यमा अत्याचार र अन्याय गरिरहने उनीहरू आफू सकारात्मकताका चरमचुली हुन् ।

अन्यायका विरूद्ध कुण्ठा, पीडा र निराशा व्यक्त गर्नेहरू नकारात्मकताका नरककुण्ड हुन् । आज जसले प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा उभिनेलाई कुण्ठित र निराश भनेका छन् ।

उनीहरू माओवादी नेताहरूले नेपाली युवासित गरेको झूटको खेती, विश्वासघात र धोकाको प्रमाण मेटाउन चाहन्छन् । हिजोका वीरहरूको आजको ‘पिर’ नेपाली इतिहासमा युवाहरूमाथि माओवादी नेतृत्वले गरेको गद्दारीको प्रमाण हो ।

प्रकाश सपूतको यो गीतमा नेपालको माओवादी नेताहरूको अनुहार निकै घिनलाग्दो देखिन्छ । आफ्नो विद्रुप अनुहार देखेपछि माओवादी नेताहरू आतङ्कित भएका छन् र आफ्ना विवेकहीन कार्यकर्तालाई सामाजिक सञ्जालमा प्रकाश सपूतका विरुद्ध उतारेका छन् ।

प्रचण्ड मार्काका माओवादी नेताहरू र माओवादी विरोधीहरूको व्यवहारमा एउटा समानता छ । त्यो समानता भनेको के हो भने पूर्व माओवादी कार्यकर्ताहरूको ‘पिर’ वा पीडाले यी दुवै थरीलाई कत्ति पनि दुख्दैन ।

यिनीहरू दुवैथरी नै सम्भ्रान्तहरू हुन् । हेर्नुस् न आज कसरी सत्तामा बसेर सहभोज गरिरहेका छन् ? माओवादीका सम्भ्रान्त र माओवादी विरोधी सम्भ्रान्तहरूका सन्तानहरू कोही बेलायत छन् र कोही अमेरिका ।

उनीहरू कसैका सन्तान पनि खाडीको गर्मीको भुङ्ग्रोमा उसिल्टिनु परेको छैन । उनीहरू कसैका सन्तानको पनि युद्धका बम र गोलीले शरीर ‘कुरूप’ बनाएको छैन । त्यसकारण, सपना लुटिएर खाडीमा बेचिन बाध्य युवाहरूको ‘पिर’ले उनीहरूलाई पोल्दैन ।

माओवादी र माओवादी विरोधी नवधनाढ्यहरूको विचारमा गीतहरूमा युद्धका घाउ देखाउनु अपराध हो । किनकि, ती घाउहरू उनीहरूले विगतमा राज्य र विद्रोही पक्षको नेतृत्वमा बसेर मच्चाएको हिंसाका प्रमाण हुन् ।

ती घाउहरू प्रचण्ड र उनका अनुयायीका वैभव निर्माण गर्ने घाउहरू हुन् । ती घाउहरूले नेपालका माओवादी नवधनाढ्यहरूको महल कसरी आम ‘वीर’ योद्धाहरूको रगत, हाड र मासुले बनेको छ भन्ने उजागर गर्छन् ।

ती महलहरूले आज ती ‘वीर’हरूलाई कति धेरै पिर दिएको छ भन्ने पनि गीतले उजागर गरेको छ । त्यसकारण, हिजोका ‘वीर’हरूको आजको पिर र हिजोदेखिको घाउ उजागर गर्ने गीतका कारण खुमलटारमा खैलाबैला छ ।

शायद बालुवाटारमा पनि कतै न कतै लज्जाबोध भइरहेको छ । प्रचण्डका अनुयायीहरूले गीतमा रहेको एउटा दृश्यलाई लिएर माओवादी महिला छापामारको अपमान गरेको भनेर कोकोहोलो मच्चाइरहेका छन् ।

उनीहरूले त्यसो भनिरहँदा आफ्नो पूर्वसहकर्मी महिला साथी भन्ने चिनेपछि मूल पुरुष पात्र यौनसम्बन्ध नगरी तुरुन्तै फर्किएको तथ्य लुकाएका छन् । गीतले अहिले पनि जतिसुकै निराश भए, जति पिर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने नै देखाएको छ ।

अर्को कुरा कुनै पूर्वमाओवादी छापामार बाध्यता वा चाहनाका कारण यौनकर्मी बन्यो भने त्यसमा यत्रो हल्लाखल्ला गर्नुपर्ने कारण के ? यो गीतको कथाले चाहना होइन, बाध्यताको चित्रण गरेको छ ।

तर, प्रचण्डका समर्थकहरूले यो दृश्यबारे फेसबुकका भित्तामा जे लेखेका छन्, त्यसबाट उनीहरूको चरम पुरुषसत्तावादी अहङ्कार नै प्रकट भएको छ । ‘वेश्यावृत्ति’ र ‘देहव्यापार’ जस्ता शब्द प्रयोग गरेर उनीहरूले यौनकर्मीहरूको अपमान गरेका छन् ।

त्यसो गर्ने प्रचण्डका अनुयायीहरूलाई हाम्रो युगकी प्रतिनिधि कवयित्रि निभा शाहले ‘म वेश्या’ शीर्षकको कवितामा लेखेका निम्न हरफहरू पढ्न अनुरोध गर्दछु,

शहीदको रगत चुस्ने तिम्रा ओठहरूभन्दा
पवित्र र चोखा छन् हजारौंले चुसेका
मेरा ओठहरू, हो म वेश्याका ओठहरू ।

शहीदका छाती गिजोल्ने तिम्रा रूखा हातहरूभन्दा
पवित्र र चोखा छन् मेरा छातीहरू ।

शहीदको यौनाङ्ग चुठ्ने तिम्रा यौनाङ्गभन्दा
पवित्र र चोखा छन् हजारौंले चुठेका
मेरा यौनाङ्गहरू हो, म वेश्याका यौनाङ्गहरू ।

(अनलाइन खबरबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार ०८:२०