सूचनाको शक्ति - The Power Of Information

        

रुसको आक्रमणबाट १३ सय युक्रेनी सेना मारिएको युक्रेनका राष्ट्रपतिको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३ सय युक्रेनी सेना मारिएको बताउनुभएको छ ।

युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले ५ सय देखि ६ सयको हाराहारीमा रुसी सेनाले युक्रेन समक्ष आत्मसमर्पण गरेको दावी समेत गर्नुभयो ।

यता रुसी सेनाले युक्रेनको राजधानी किभको दक्षिण क्षेत्रमा रहेको सेनाको हवाई अड्डामा मिसाइल आक्रमण गरेकोछ । जसका कारण त्यहाँका केही संरचनाहरु ध्वस्त भएको जनाइएको छ ।

किभ भन्दा २५ किलोमिटर टाढा रहेको रुसी सेनाले राजधानी किभमा आक्रमण गर्ने उद्देश्य सहित अघि बढिरहँदा युक्रेनी सेनाले प्रतिकार गरिरहेको छ ।

उता, फ्रान्स र जर्मनीले रुसलाई युद्धबिरामका लागि अपील गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तत्काल युद्धबिराम गर्न अपील गरेका हुन् ।

युद्धको मारमा परेका युक्रेनाी जनता भने खाद्यान्न र पानीको हाहाकारको सामना गर्न बाध्य भएका छन् । युक्रेनका सबै क्षेत्रमा हवाई आक्रमणको साइरन बजेपछि युक्रेनी जनतामा भागदौड मच्चिएको छ ।

यसैबीच रुसका विदेशमन्त्री सर्गोइ लाभारोभले युक्रेनलाई पश्चिमी राष्ट्रहरुले हतियार उपलब्ध गराएको आरोप लगाउँदै यसको मुल्य युक्रेनले चकाउनु पर्ने चेतावनी दिनुभएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार ०८:०४