सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान शुरु

बाँके । बाँकेमा शनिवारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । जिल्लाका आठवटै पालिकामा पालिकाले आ–आफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरेका हुन् ।

बाँकेमा जिल्लामा ५ लाख ६८ हजार मानिसलाई औषधि दिइने लक्ष्य छ । त्यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन भएको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

औषधि खानेले खाइरहने र नखानेले नखाइरहने गरेका कारण ६ वर्ष अघिनै सकिनु पर्ने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान १२ औं पटक पनि जारी राख्नु पर्ने अवस्था आएको हो ।

यो पटक उचाइको आधारमा प्रत्यक्ष स्वास्थ्यकर्मी तथा महिला स्वयमसेविकाको निगरानीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम छ ।

बाँके अझैपनि हात्तिपाइले रोगको जोखिममा रहेकाले यो अभियानमा साथ दिएर बाँकेलाई हात्तीपाइले रोग निवारणमा सहयोग गर्न उनको आग्रह छ ।

हात्तीपाइले रोग विरुद्ध तीन वटा औषधि खुवाइने छ । यसअघिका औषधिबाट रोग निवारण हुन नसकेपछि यसपटक आइभरमेक्टिन औषधि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

हात्तीपाइले रोगविरुद्ध खुवाइने डाइथाइल कार्बामाजिन, अल्बेन्डाजोल र आइभरमेक्टिन औषधि व्यक्तिको उचाइअनुसार खुवाउनुपर्ने हुन्छ ।

जसअनुसार ९० सेमिभन्दा तल, तर २ वर्षभन्दा माथिका लाई आइभरमेक्टिन खुवाउनु पर्दैन भने डाइथाइल कार्बामाजिन र अल्बेन्डाजोल १–१ चक्की खुवाउनुपर्छ ।

यस्तै, ९० सेमिदेखि ११२ सेमिसम्म, ११३ देखि १३३ सेमिसम्म, १३३ सेमिदेखि १४६ सेमिसम्म र १४७ सेमिदेखि माथिकालाई क्रमशः १, २, ३ र ४ चक्की आइभरमेक्टिन खुवाउनुपर्छ ।

यस्तै, सो उचाईसमूहका लागि डाइथाइल कार्बमाजिन क्रम १, २, ३ र ४ चक्की खुवाउनुपर्छ भने अल्बेन्डाजोल सबैलाई १–१ चक्की दिन दिन्छ ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी बाहेक अरु सबैले औषधि सेवन गर्न सक्ने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १९:४७